बिहिबार, चैत्र १५, २०८०

किसान आयोगले गोष्ठी मै सिध्यायो ७३ लाख ६९ हजार

काठमाडौं, वैशाख । नेपाली किसानहरुको हक अधिकारका लागि भन्दै स्थापना भएको राष्ट्रिय किसान आयोग किसानका लागि काम गर्ने आयोगको रुपमा स्थापित हुन सकेन । किसानहरुको नाम भजाएर गोष्ठि सभा नै सरकारी रकम झ्वाम पार्ने अभियानमा जुटेको छ आयोग ।
आयोगले गत चालु आर्थिक वर्षमा मात्र गोष्ठी वापत ७३ लाख ६९ हजार ४ सय २३ रुपैयाँ सिध्याएको छ । करीव ४ करोड बार्षिक बजेट भएको आयोगले गोष्ठीमा नै ७३ लाख खर्च गरेको देखिन्छ । आयोगले अध्ययनका नाममा मात्र निकटका व्यक्तिलाई आधा करोडभन्दा बढी रकम वितरण गरेको छ । विना प्रतिष्पर्धा आयोगका अध्यक्ष तथा पदाधिकारीहरुका निकट व्यक्तिहरुलाई जभाभावी रुपमा बजेट बाँढेको देखिन्छ ।
किसान आयोगमा किसानसँग सम्वन्धित संघ संस्था दर्ता गर्नका लागि निर्देशिका बनाउन भन्दै हावाका भरमा रकम बाँडेको देखिन्छ । किसान आयोगको आधिकारीक वेवसाईट निर्माण गर्नका लागि मात्र १ लाख ९७ हजार ७ सय ५० रकम खर्च गरेको आयोगले जनाएको छ ।
ती बाहेक धेरै यस्ता रकमहरु छन् जसले किसानका हितका लागि भन्दा पनि आयोगका पदाधिकारी निकट व्यक्तिहरुलाई काम दिने संस्थाका रुपमा राष्ट्रिय किसान आयोग परिचित हुँदै गएको छ । राष्ट्रिय किसान आयोगले गरेका काम कार्वाही किसानका पक्षमा भएन भन्दै किसान आयोगको औचित्यतामाथि नै पटक पटक प्रश्न समेत उठ्न थालेको छ ।
किसान आयोग पदाधिकारी राजनीतिक नियुक्ति लिने र भत्ता पचाउने काममा मात्र दत्तचित्त देखिएको आयोगको कामले नै प्रष्ट पारेको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १९, २०७६