बिहिबार, चैत्र १५, २०८०

किसान आयोगका पदाधिकारी नियुक्ति रोकियो

काठमाडौं, चैत्र । कृषि क्षेत्रको विकासका लागि बृहत भूमिका रहेको भनिएको किसान आयोगको पदाधिकारी चयन गरिएपनि नियुक्ति भने रोकिएको छ । निर्वाचन आयोगले आचार संहिता लागू भईसकेको अवस्थामा किसान आयोगका पदाधिकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई तत्कालका लागि कार्यान्वयन नगर्न कृषि विकास मन्त्रालयलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।ministry-of-agriculture
सात सदस्यीय पदाधिकारी रहेको किसान आयोगको अध्यक्ष चित्रबहादुर श्रेष्ठको नियुक्ति पश्चात अहिलेसम्म सदस्य सचिव समेत तोक्न सकेको छैन । भने पाँच जना सदस्य मन्त्रीपरिषद्ले स्वीकृत गरेपनि सो नियुक्ति भएका सदस्यहरुलाई ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ ।
किसान आयोगका पदाधिकारीहरु नियुक्ति गर्न निर्वाचन आयोगले रोकेपछि किसान आयोग कार्य पुरै प्रभावित हुने भएको छ । राजनीतिक भागबण्डामा नियुक्ति गरिएको किसान आयोगका सदस्यहरुमा एमालेले भने सहभागी भएको छैन । कृषि विकास मन्त्रालयले आफ्नो वेवसाईटमा निकालेको दोस्रो सूचनामा निवेदन पेश गरेका काग्रेस निकट कृषि संगठनका अध्यक्ष भानु सिग्देल र बसन्ती घिमिरेलाई पनि सदस्यमा नियुक्ति गरेको थियो । त्यसैगरी आयोगमा महिलाको कोटा बढाउनु पर्ने अडान राख्दै आएकी कृषि राज्यमन्त्री राधिका तामाङ्गले तेस्रो सूचना प्रकाशित भए पछि निवेदन पेश गर्न लगाएकी मिना तामाङ्गलाई समेत किसान आयोगको सदस्यमा नियुक्ति गरिएको थियो ।
त्यस्तै आयोगको सदस्यमा नियुक्ति भएर पदबहाली गर्न नपाएका अभागी सदस्यहरुमा सहकारीका तर्फबाट रविन्द्र केसी, र विज्ञ सदस्यमा कृषि विकास मन्त्रालयका पूर्व सचिव उदयचन्द्र ठाकुर छन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र १०, २०७३