शुक्रबार, बैशाख ७, २०८१

यी किसानको आँशु कसले पुछ्ने, कुखुरा फार्मले घरै लिलामी गराउँदै

नेपालगञ्ज । व्यवसायिक रुपमा कुखुरा पालन गर्दा बर्षौ दुख गरेर कमाएको घर वैकले लिलामी गर्न तयारी गरिरहँदा एउटा किसानको हविगत कस्तो होला ? करोडौं मूल्य पर्ने घर कुखुरा पालन व्यवसायमा लागेकै कारण लिलामी हुँदैछ वाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. २ पहाडीपुरमा लक्ष्यदिप पशुपालन फार्म सञ्चालन गरेर बसेका किसान दिपकको ।

करीव ढेड वर्ष व्यवसायिक कुखुरा फार्म सञ्चालन गरेका दिपकको फार्ममा लकडाउनका कारण दाना खान नपाएर हजारौ कुखुरा भटाभट मरिरहेका छन् ।

दैनिक शुरु भएको केही दिनबाट दाना अभाव भएपछि दैनिक ६÷७ सयको हाराहारीमा कुखुरा मर्न थालेका कारण उनी मर्माहित भएका छन् । अहिलेसमम करीव ४ हजार कुखुरा मरेकाले सवै कुखुरा गाँड्नु परेको किसान दिपक रुँदै बताउँछन् ।

लकडाउनका कारण विगतमा आफूले कुखुरा तथा अण्डा विक्री गर्दै आईरहेको सप्लायर्सले कुखुरा तथा अण्डा खरिद गर्न छाडेको छ भने दाना किन्न समेत मुश्किल परेको छ । अर्कोतिर फार्म सञ्चालन गर्न लिएको ऋणको व्याजको तिर्न नसकेर काठमाडौंको घर लिलामीका लागि प्राइम वैकले तीन पटकसम्म सूचना निकाली सकेको छ । आफ्नै ठाउँमा केही गरौ भनेर कुखुरा फार्म सञ्चालन गरेका दिपक अहिले निकै नै तनाव छन् ।

प्राइम वैकसँग १४ प्रतिशत व्याजमा कुखुरा फार्मका लागि लिएको डेढकरोण ऋणको व्याज तिर्न सक्ने अवस्था उनीसँग छैन । करीव दुई सातादेखि दाना नपाए कुखुराहरु मरिरहेका छन् । मासिक पौने दुईलाख व्याज मात्र बुझाउनु पर्ने पीडा किसान दिपकसँग एकातिर छ भने अर्कोतिर सरकारी निकायले किसानलाई हेर्ने दृष्टिकोण राम्रो नभएका कारण घरबार नै लिलामी हुने अवस्थामा आईपुगे पछि उनी निक्कै भक्कानिन्छन् ।

किसानका लागि यो मुलुकमा सरकार नभएको भन्दै रुँदै विलौना गर्छन् दिपक । सरकार छ भने पहुँचवालाका लागि छ । कृषि ऋणका नाममा वास्तविक किसानहरुले ऋण पाउँदेनन उनको दुखेको छ । कुखुरा व्यवसायमा लाग्दा आज घर नै गुमाउनु पर्दाको पीडा सायद दिपक जस्तै धेरैले भोगिसकेका होलान् । सिहंदरबारभित्र बसेर किसानका समस्या समाधान गर्दिछौं र किसानले उत्पादन गरेका बस्तु सरकारले खरिद गर्दिछ भन्ने कृषि मन्त्रीहरुले दिपक जस्ता किसानहरुको आँशु पुछ्ने प्रयास गर्न सक्छन् ?

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६