शुक्रबार, चैत्र १६, २०८०

किसानका लागि मनसुनको सन्देश – विष्णुलाल श्रेष्ठ

BLSयसपालि किसानका निमित्त मनसुनले राम्रो संकेत देखाएको छ । माघ नलाग्दै पुसको अन्त्यतिर आकाशमा बादलका धर्साहरु देखिए । माघ लागेपछ त्यो मनसुने झरीमा परिणत भयो । नेपालीमा एउटा उखानः ’पुस रुँदे माघ बुँदे, फागुने झरी, समय परी’ अझै पनि चलन चल्तिमा छ । नभन्दै माघको पहिलो हप्ता अघिल्लो शनिबार मुलुकभर पानी प¥यो । हुन त यसले लामो समयपछि निकै जाडो ल्यायो । सुदुर पश्चिममा ठूलै हिउँ प¥यो । एक किसिमले जीवन अस्तव्यस्त बन्यो । जाडोले कठाङ्ग्रीएका समाचार पनि आए । एकाधको मृत्युको खबर पनि आयो । काठमाडौं उपत्यकामा भने खासै हिउँ परेन । शिवपुरीको डाँडोमा थोरै हिउँ देखिएको हो । तर सबै खेतीका लागि हिउँदे वर्षाले सकारात्मक सन्देश भने छाड्यो ।
यस पटकको हिउँदे वर्षाले बालीनालीलाई खासै नोक्सान पनि पारेन । केही ठाउँमा फलफूल खेतीलाई अलिकति नराम्रो गरे पनि अधिकांश स्थानका खेतीपातीलाई राम्रो गरेको स्वयं किसानहरुले बताए । गहुँ, फापर, आलु, मकैका निमित्त यो वर्षा वरदान नै सावित भयो । केही दिन हिउँ परेर जाडोले ठिहिराए पनि खेतीका लागि राम्रो भएको हुँदा किसानहरु दंग परेका छन् । वर्षा थामिनासाथ किसानहरु खेतीको स्याहारसुसारमा लागेको खबर पनि प्रकाशमा आयो ।
यो मनसुनले यसपालि मुलुकभरको हिउँदे बालीनालीलाई राम्रो त ग¥यो नै साथै वर्षे खेतीको लागि पनि सकारात्मक सन्देश दिएको छ । कुनैकुनै हिउँदमा फागुनमासम्म पानीको छिटा नपरेर किसानहरु मर्कामा पर्थे । सुख्खा बाँझो खेतबारीमा बाली नाली सप्रने कुरा पनि थिएन । समयमा पानी नपर्दा हिउँदे बाली त नराम्ररी बिग्रने गर्दथ्यो । लामो समयपछि यसपटक भने समयमै मनसुन सुरु भएपछि राष्ट्रिय उत्पादन राम्रो हुने भएको हो । त्यसैले हिउँदका लागि मात्र नभएर वर्षे खेतीका निमित्त पनि राम्रो संकेत भने हो । फाटफुट मात्र वर्षा नभएर झरीकै रुपमा देखियो । आलु, गहुँ, फापर, विभिन्न तरकारी खेतीका लागि अत्यन्त राम्रो भएको छ ।
हिउँदे बाली राम्रो भएपछि स्वतः वर्षे खेती पनि राम्रो हुने धारणा किसानहरुको रहेको छ । किसानहरुमा राम्रो उत्साह जागेको छ । वर्षाले गर्दा उत्पादन राम्रो हुने भएपछि आम्दानी पनि स्वतः बढ्ने छ । हिउँदको राम्रो फसलले वर्षे धानबालीमा सकारात्मक असर पर्छ नै । हिउँका डल्लालाई किसानहरु मलकै रुपमा लिन्छन् । जमिनको गहिराइसम्म जमेका हिउँले वर्षाको बालीलाई पनि राम्रो गर्ने किसानहरु बताउँछन् । अझ राम्रो फसलका निमित्त किसानहरु खेतबारीमा जुट्नु आवश्यक छ । साथै राज्यको ध्यान केन्द्रित गराएर कसरी बालीनालीका लागि सहयोग जुटाउन सकिन्छ त्यतातिर पनि प्रयासको खाँचो देखिन्छ । जे होस् आगामी वर्षहरुमा पनि नेपाली किसानहरुका लागि मनसुनी वर्षाको अपेक्षा गरिन्छ ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७०