बिहिबार, बैशाख १३, २०८१

किसानका लागि पहिलोपटक पश्चिमी नहरमा पानी

नेपालगञ्ज, २९ मङ्सिर । बाँके जिल्लाका हजारौँ किसानले वर्षौंदेखि निर्माण पूरा हुने प्रतिक्षा गरिरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले एक हजार पाँच सय हेक्टर जग्गालाई सिँचाइ सुविधा पुग्ने गरी पहिलोपटक पश्चिमी नहरमा पानी छोडिएको छ ।
पश्चिमी नहर निर्माण भएपछि किसानका लागि खेती गर्न पानी छोडिएको आयोजनाले जनाएको छ । गतवर्ष नै पानी छोड्ने लक्ष्य भए पनि हाल आएर मात्र पश्चिमी नहरको ४५ दशमलव २५ किलोमिटरको निर्माण कार्य करिब करिब पूरा भएकोले किसानको मागअुनसार सिँचाइका लागि पहिलोपटक नहरमा पानी छोडिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले जानकारी दिए।
पश्चिमतर्फको मूल नहर निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको जनाउँदै केही ठाउँमा एक÷दुईवटा पुल मात्र निर्माण गर्न बाँकी रहेकोले सो काम पनि हुँदै जाने र नहरको पानीले सिँचाइ सुविधा पनि उपलब्ध गराउने उद्देश्यले पानी छोडिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कार्कीले बताए
वि.सं. २०६२ देखि सुरु भएको आयोजनाको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भइसकेको समेत उनले जनाए । ‘हामीले पहिलो चरणको आयोजनाको पश्चिमतर्फको काम लगभग सकेका छौँ, अब केही ठाउँमा एक÷दुईवटा स–साना काम मात्रै बाँकी छन्,’ कार्कीले भने, ‘किसानले आफूलाई खेती गर्न पानीको समस्या भएको बताएपछि हामीले पहिलो चरणमा पानी नहरमा छोडेका हौँ, यो परीक्षणका रूपमा छोडिएको हो । आवश्यकता अनुसार किसानलाई सिँचाइ गर्न पानी उपलब्ध गराउने छौँ । ’
तत्काललाई आयोजनाले किसानहरूको मागअनुसार तीन क्युमेक पानी राप्ती नदीबाट नहरमा ल्याइएको छ । बाँकेको सिधनिया, राँझा र डुडुवा क्षेत्रमा पानी छोडिएको छ । अहिले ल्याएको पानीले सिधनिया क्षेत्रको पाँच सय हेक्टर र डुडुवा क्षेत्रको एक हजार हेक्टर जमिनलाई सिँचाइ हुने आयोजनाले जनाएको छ ।
किसानको मागअनुसार पानीको मात्रा बढाइने समेत आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कार्कीले बताए । ‘तत्काललाई परीक्षणका रूपमा हामीले थोरै मात्रामा पानी मूल नहरमा छोडेका छौँ,’ उनले भने, ‘तर किसानहरूले सिँचाइका लागि पानी आवश्यक प¥यो भन्ने अनुरोध हुने वित्तिकै नहरको पहुँच भएको क्षेत्रसम्म पानी पु¥याउने तयारीमा छौँ । ’

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४