मङ्लबार, चैत्र ६, २०८०

काम नै नगरी २९ पाने उपलब्धि देखाए कृषि मन्त्रीले

काठमाडौं, असोज । कृषि मन्त्री भएको ठ्याक्कै छ महिना पुग्यो चक्रपाणी खनालको । यही मेलोमेसोमा आफूले छ महिनामा गरेका उपलव्धि भन्दै २९ पाने रंगिन हाते पुस्तक वितरण गरे पत्रकार बोलाएर । काम होस् या नहोस् मिडियामा आईरहनु पर्दछ भन्ने मान्यता छ मन्त्री खनालको । त्यसैले पनि अरुले गरेको कामलाई पनि आफैले गरेको भन्न भ्याए मंगलबार ।
दिउँसो ३ बजे आफू मातहतका कार्यालय प्रमुख, विभिन्न सञ्चार माध्यमका पत्रकार बोलाए अनि आफू भने ढल्की ढल्की ४ बजे सभाकक्षमा प्रवेश गरे उपलब्धीका फेहरिस्ता सुनाउन थाले । नयाँ नयाँ काम गरेको देखाउने प्रयास पनि गरे । तर ती सव निरर्थक थिए । उनले मन्त्री भएर आएपछि बोलेका एउटै कुरा पनि पूरा हुन सकेका छैनन् ।
कार्यक्रममा मन्त्री चक्रपाणी खनालले सवैलाई चक्रजस्तै घुमाउन थाले । २०७५ वैशाख २३ गते अल्पकालिन, मध्यकालिन र दीर्धकालिन योजना सहितको ५८ बुँदे कृषि, पशुपन्छी भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरण मार्गचित्र २०७५ जारी गरिएको धक्कु लगाए ।
विचरा मन्त्री ५८ बुँदे मार्गचित्र मध्ये एउटा पनि कार्यान्वयनमा ल्याउन सकेनन् । बरु कालीमाटी तरकारी बजारमा ५१ वटा स्टल हटाउन सफल भए भन्दै धाक लगाउन पो थाले । विगतका मन्त्रीहरुका पालामा तयार पारेका विभिन्न कानून तथा कार्यविधिहरुलाई स्वीकृतको प्रक्रियामा रहेको यस्तै यस्तै उपलब्धि सुनाई नै रहे ।
मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत वर्षदेखि नै सञ्चालन गरेका जोन तथा सुपर जोनमा ४ हजार ६ सय १२ वटा भकारो सुधार कार्यक्रम सम्पन्न गरेको कुरालाई पनि आफ्नो उपलब्धिमा नै राखेका रहेछन् ।
त्यत्तिमात्र कहाँ हो र, आखिर जनयुद्धका डिपुटी कमाण्डर नै परे उद्योग मन्त्रालयले तोकेको धानको मूल्यलाई पनि आफ्नै छ महिने उपलब्धिमा हाल्ने भ्याए । पूर्व कृषि मन्त्री हरिवोल गजुरेल कै पालामा ल्याएको किसान पेन्सनको कुरालाई पनि आप्mनै उपलब्धिका रुपमा राख्न सफल भएका छन् ।
धन्नय अरुले गरिदिएका थिए र आफ्नै उपलब्धि भन्न पाए । किसानहरुका गुनासा सुन्ने र समस्या समाधान गर्नका लागि कृषि सूचना तथा सञ्चार केन्द्रमा स्थापना गरिएको किसान कल सेण्टर जे जुकै होस् मन्त्रालयको छिंडीमा गुनासा टिपाउने कार्यकक्ष आजै उद्घाटन पनि गर्न भ्याए ।
मन्त्रीका छ महिने कार्यकालमा धेरै उपलब्धि भएको देखाएका छन् । तर यथार्थमा कुनै पनि समस्या समाधान भएका छैनन् । ती वास्तविक रुपमा उपलब्धि होइनन् । मन्त्री खनालले विदेशी राजदूत भेटेका तस्वीर छाप्न लगाएर त्यसलाई पनि आफ्नो छ महिनाको उपलब्धि मानेका छन् ।
धन्य कृषि मन्त्री खनालले एउटा कुरा चाहिं आफ्नो उपलब्धिमा हाल्न भुलेछन् । नेपाली जनतालाई भात खुवाउन जापान सरकारले दिएका चामल अनुदान । त्यो पनि यही छ महिने उपलब्धि भनिदिएको भए अझै वेश हुन्थ्यो ।

प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५