शुक्रबार, चैत्र १६, २०८०

काम नै नगरी अनुदानको रकम झ्वाम

काठमाडौं, साउन । कृषि विकास मन्त्रालयबाट विभाजित भएर बनेको पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको पशु उत्पादन निर्देशनालयले जिल्ला जिल्लामा उपलब्ध गराउंदै आएको अनुदानको रकममा व्यापक हिनामिना भएको छ । पशु उत्पादन निर्देशनालयले विभिन्न शीर्षकमा रकम अनुदान दिंदै आएको पनि देखिन्छ । तर ती अनुदान उपलब्ध गराउंदा जिल्ला पशु सेवा कार्यालयले कार्य सम्पन्न भएको पत्रका आधारमा उपलब्ध गराउने गरेका कारण काम नै नगरी सरकारी अनुदान झ्वाम पार्न माफियाहरुलाई सजिलो भएको हो ।
पशु उत्पादन निर्देशनालय मार्फत भुक्तानी हुने धेरै जसो अनुदान कार्यक्रममा कागजी भरमा करोडौ रुपैयाँ आर्थिक वर्षको अन्त्यमा बाँडफाँड गरेको बुझिएको छ । पशु सेवा विभाग मातहतमा रहेको चार निर्देशनालय मध्ये सवै भन्दा बढी अनुदान वितरण गर्ने निर्देशनालयका रुपमा पशु उत्पादन निर्देशनालय पर्ने गर्दछ ।
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको मिलेमतोमा काम नै नगरी काम गरेको पत्र तयार गरी उमादेवी गाई फार्म र उन्नत गाई फार्म मिल्किङ्ग पार्लरका नाममा दश दश लाख रुपैयाँ पशु उत्पादन निर्देशनालयबाट भुक्तानी लिएका हुन् । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका कार्यलय प्रमुख डा विनय कर्णलाई सो विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् ।

प्रकाशित मिति: सोमवार, साउन २, २०७४