बिहिबार, बैशाख १३, २०८१

कहिले होला कृषिमा आधुनिकीकरण ?

काठमाडौं, मंसिर। नेपालमा अझै पनि ६७ प्रतिशतको हारारहारीमा जनता कृषि व्यवसायमा आश्रित छन्  । कुनै न कुनै रुपमा कृषि व्यवसायमा लागेका देखिन्छन् पनि  । परम्परादेखि चल्दै आएको कृषि व्यवसाय धान्दै आउने पुस्ताहरु अझै पनि छन् गाउँघरदेखि सहरबजारसम्म नै  । यो पूर्खाको बिँडो धान्ने शैली र परम्परा कहिलेसम्म जाने हो थाहा छैन  । संस्कारले पनि हामी नेपालीमा कृषि पेशालाई अँगालीराख्नुपर्छ भन्ने मान्यता रहीआएको छ  । एक अर्थमा हाम्रो सभ्यता, संस्कार, परम्परा र शैली राम्रै मान्नुपर्दछ  । गाउँघरका आआफ्ना करेसा बारीदेखि तराइका सम्म मैदानहरुमा तरकारी खेती गर्ने सोच बदलिएको छैन  । केही न केही रुपले तरकारी खेतीलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता अझै विद्यमान छ  । धेरै खाले नेपालीले धेरै खाले कृषिमा हात हालेका छन्  । कोही माछा पालन, कोही बाख्रा पालन, कोही भैंसी पालन, कोही कुखुरा पालन, कोही गाई पालन, कोही बंगुर पालनमा छन्  । ministry-of-agriculture
सँगसँगै तरकारी खेतीमा संलग्न हुने नेपाली जमात पनि सानो छैन  । आआफ्नै ढंगले तरकरी खेतीमा आवद्ध छन्  । धान, मकै, गहुँ, कोदो, आलु, फापर, जौ आदिको खेती गर्ने कृषकहरु धेरै छन्  । हिमाली भेकमा त्यहाँको हावापानी अनुसार फापर र आलु लगाउनेहरुले त्यो परम्परालाई अझै पनि धानिरहेकै छन्  । ती ठाउँहरुमा धान, मकै, गहुँ उत्पादन हुँदैनन्  । त्यो त्यहाँको बाध्यता हो  । पहाडी भेगहरुमा धान, मकै, कोदो, गहुँ लगायतका फसलहरु प्रशस्त मात्रामा उब्जन्छन्  । त्यसैगरी तराइका सम्म मैदानमा ठूलो मात्रामा धान, मकै, गहुँ, आलुको उब्जनी भएकै छ । नेपालका जनतालाई खाद्यान्नको परिमाण पु¥याएर पनि निर्यात गर्न सकिने क्षेत्र हो तराई  । उपत्यकाका कतिपय ठाउँहरुमा अझै पनि ठूलै मात्रामा तरकारी खेती गर्न सकिन्छ र गरिरहेका पनि छन्  । खासगरी उपत्यका र पहाडी भूभागहरुमा अहिले टनेल प्रणालीमा आधारित तरकारी खेती गर्ने प्रचलन पनि आइसकेको छ  । माछापालन, पशु पालनमा पनि केही आधुनिकता आएको देखिएको छ  । उपत्यकालाई चाहिने तरकारीको आधा परिमाण नेपालकै उत्पादनले धानेको छ  ।
यति हुँदाहुँदै पनि नेपालमा कृषिमा अझै व्यावसायिकता आएको भने देखिदैन  । आफ्नो परिवारलाई पुग्ने र चाहिने परिमाणमा मात्र कृषि उपज गरेर पुग्दैन  । त्यो परम्परा, प्रणाली र सोचमा जबसम्म परिवर्तन आउँदैन तबसम्म कृषिमा व्यवसायिकता आउन सक्दैन  । खाली रहेका जमिनमा वा धान र गहुँ एवं कोदो, फापर लगाउने ठाउँहरुमा व्यावसायिक खेती गर्ने हो भने प्रशस्त मात्रामा आम्दानी हुने देखिन्छ  । पूर्व पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग दायाँबायाँका जग्गाहरुमा केही वर्ष पहिले मकै, कोदो, गहुँ, तोरी मात्र लगाउने गरेको देखिन्थ्यो  । मानिसहरुको घना वस्ती र विशेषगरी उपत्यकाको जनसंख्याको चापलाई दृष्टिगत गरी अहिले ती ठाउँहरुमा ठूलो मात्रामा तरकारी खेती गर्ने शैली आइसकेको छ  । यसरी नै तिनै ठाउँहरुमा आधुनिक प्रणाली, बीउ–विजन र औजारहरुको प्रयोग गरी कृषिमा व्यावसायिकता ल्याउने हो भने तेब्बर नाफा लिन सकिने हुन्छ  । किसानलाई प्रशिक्षण दिने, प्रोत्साहन गर्ने, सुविधा प्रदान गर्ने हो भने आज ससाना खालका खेती गरेर बस्नेहरु व्यवसायिकतातिर उन्मुख हुने थिए  ।
कृषिमा व्यवसायिकता ल्याउन किसानले मात्र जोड दिएर पुग्दैन, सरकारी सोचमा परिवर्तन आउन पनि उत्तिकै जरुरी छ  । यदि कृषिमा व्यवसायिकता आउने हो र खाद्यान्नदेखि तरकारीसम्म बाहिरबाट आयात गर्नु नपर्ने हो भने मुलुक आत्मनिर्भरतातिर जान धेरै समय कुर्नु पर्दैन  । त्यत्ति मात्र होइन, खाद्यान्न त बाहिरसमेत निर्यात गर्न सकिने प्रशस्त संभावनाहरु पनि छन्  । त्यसैले किसान र सरकार दुवैले कृषिमा व्यवसायिकता अँगाल्ने सोच ल्याउन जरुरी छ  ।

प्रकाशित मिति: सोमवार, मंसिर २७, २०७३