शनिबार, बैशाख ८, २०८१

एक पोका बीउ बाँडेर व्यवसायिक कृषि खेती हुँदैन

yam kumari shrestha
यमकुमारी श्रेष्ठ
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, काठमाडौं

० जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक बर्षमा कस्ता कार्यक्रम सम्पन्न ग¥यो ?
चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय काठमाडौले प्राविधिक सेवालाई नै प्राथमिकता दिएर अगाडि बढिरहेको छ । किसानहरुलाई कृषि पेशामा नै सक्रिय तुल्याउनका लागि प्लाष्टिक घर निर्माण, साना सिंचाई, प्रांगारिक मलमा अनुदान सञ्चालित छन् । त्यस्तै व्यवसायिक कृषि गर्न लागिरहेका किसानहरुलाई विभिन्न प्रकारका तालिमहरु पनि हामीले प्रदान गर्दै आएका छौं ।
० काठमाडौं जिल्लामा कृषि व्यवसाय नै क्रमशः घट्दै छ नि होइन ?
काठमाडौं जिल्लामा कृषि योग्य भूमिहरु घट्दै छ । सोही अनुपातमा कृषि उत्पादन पनि घट्दो अवस्थामा छ । तर थोरै जमिन भाडामा लिएर भएपनि व्यवसायिक रुपमा खेती गर्नेहरुको संख्या भने काठमाडौंका ग्रामिण भेगमा बढ्दै गईरहेको छ । विशेष गरी काठमाडौ बाहिरका व्यक्तिहरु अस्थायी रुपमा बसोबास गर्नेहरुले नै भाडामा लिएर व्यवसायिक रुपमा खेती गरिरहनेको संख्या बढी देखिन्छ । तर काठमाडौका स्थानीय किसानहरुले परम्परागत रुपमा नै धान, मकै, गहु खेती गर्दै आईरहनु भएको छ ।
० जिल्लाको प्राथमिकताको बालीहरु के के हुन् त ?
क्षेत्रफलको हिसावले हेर्ने हो भने काठमाडौमा धान नै बढी उत्पादन भइरहेको र परम्परागत रुपमा बढी प्राथमिकता यसले नै पाएको छ । त्यस्तै परम्परागत रुपमा गरिएका खेतीलाई हेर्ने हो भने धान गहुँ प्रमुख रुपमा पर्दछन् । तर व्यवसायिक रुपमा तरकारी खेती हेर्ने हो भने काउली, गोलभेंडा, रायो साग,बढी छ । पछिल्लो समयमा प्लाष्टिक टनेल भित्र तरकारी खेती प्रति किसानहरुको आकर्षण बढिरहेको छ भने केही व्यवसायिक किसानहरुले हाईटेक प्रविधि प्रयोग गरिरहेको देखिन्छ । अवको काठमाडौंको व्यवसायिक कृषि हाईटेक प्रविधिका माध्यमबाट गर्न सक्ने हो भने थोरै जमिनमा धेरै उत्पादन लिन सकिन्छ । थोपा सिचाई, मल्चिङ् प्रविधि धेरैले प्रयोग गरिसकेका छन् ।
० काठमाडौमा खेती गर्ने उपत्यका बाहिरका बढी छन् भन्नु भो कुन क्षेत्रका बढी छन् त ?
काठमाडौंका स्थानीय किसानहरुले व्यवसायिक खेती गर्ने भन्दा पनि आफ्नो जग्गा भाडामा दिएर भाडा खाने प्रबृत्ति बढी देखिन्छ । स्थानीय जनताको जग्गा भाडामा लिएर विशेष गरी पहाडी जिल्लाका व्यक्तिहरु काठमाडौंमा आएर तरकारी खेती गर्नेहरुको संख्या धेरै छ । तराई क्षेत्रबाट आएर तरकारी खेती गर्ने किसानहरु विरलै पाईन्छ ।
० प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काठमाडौ पनि लागू भएको देखिन्छ प्रभावकारी हुन्छ ?
परियोजना प्रभावकारी नहुने त कुरै भएन तर कति प्रतिशत प्रभावकारी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । काठमाडौं जिल्लामा व्यवसायिक कृषि गर्नेहरुको संख्या बढ्दै गएका कारण पनि प्रभावकारी हुन्छ भन्नेमा हामी ढुक्क छौं । जति किसानहरु व्यवसायिक कृषिमा सक्रिय छन् उहाँहरुको बढी चासो यस्ता आयोजनमा हुने गर्दछ । नयाँ कुरा, नयाँ प्रविधि मार्फत खेती गर्न उहाँहरु उत्सुक पनि छन् । काठमाडौंमा २५ वटा पकेट क्षेत्र छ भने अन्य जिल्लामा ६० देखि ७० पकेट क्षेत्र स्थापना गरिएको छ । तर काठमाडौंमा खेती गर्ने जग्गा मासिदै गएको छ । काठमाडौंमा न्यूनतम २५ लाख दुई चार करोडसम्म लगानी गरेर व्यवसायिक कृषि खेती गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यति धेरै लगानी गरेर कृषि व्यवसाय गर्नेहरुलाई पकेट क्षेत्र कम भए । तर व्यवसायिक कृषि खेती गर्नका लागि जग्गा पाउन नै गाह्रो अवस्था देखिन्छ ।
० काठमाडौंका किसानहरुको माग के हो त ?
काठमाडौंमा व्यवसायिक कृषि गर्ने किसानहरुको माग भने कै सहुलियत दरमा ऋण हो । सरकारले पाच प्रतिशतमा ऋण दिने भनेको भएपनि ५ प्रतिशतमा ऋण वैंक दिंदैन भन्ने गर्दछन् । त्यस्तै कृषि बीमा गर्नका लागि पनि बीमा कम्पनीहरुले विभिन्न खाले झण्झट दिने गरेको किसानहरुको दुखेसो छ । सरकारले ल्याएको नियम बमोजिम कृषिको बीमा सहज बनाउने र सहुलियत दरको ऋण कार्यान्वयन गराउने कुरा नै किसानहरुको माग छ । त्यस्तै बजारीकरणका लागि पनि किसानहरुको गुनासो छ । अन्य जिल्लाको जस्तो अनुदान माग गर्ने किसानहरु थोरै छन् ।
० व्यवसायिक कृषि गर्नका लागि जग्गा भाडामा नपाउँदा पनि कृषिमा आकर्षित हुनुको कारण के जस्तो लाग्छ ?
खास गरी विदेशबाट फर्केका युवाहरु काठमाडौंमा व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि आकर्षित भएका छन् । रोगजारीको अन्य विकल्प नभएका कारण र काठमाडौंमा सेवा सुविधा हिसावले पनि सहज हुन्छ भन्ने भावना किसानहरुमा भएकाले काठमाडौंमा व्यवसायिक कृषिमा आकर्षित भएको हुन सक्छ । काठमाडौंको काँठ क्षेत्रमा उत्पादन भएको कृषि उपज विक्री वितरण गर्नका लागि पनि बजार नजिक भएकोले पनि अन्त गएर दुख गर्नु भन्दा यतै दुख गरौं भन्ने मनोभाव पनि पैदा भएको किसानहरुले नै बताउने गर्दछन् । विदेश गएर दुख गर्नु भन्दा यही ठिक छ भन्नेहरुको जमात बढेकाले पनि कृषिमा आकर्षित भएको जस्तो लाग्छ ।
० काठमाडौं जिल्लामा कृषि क्षेत्रमा धेरै समस्या छन् भन्छन् कसरी समाधान गर्ने सोच बनाउनु भएको छ ?
जिल्ला कृषि विकास कार्यालय काठमाडौंले विशेष गरी साना किसानहरुका लागि मार्ग देखाउने र भएको सेवा उपलब्ध गराउने हो । साना किसानहरुको समस्या समाधान गर्न हामी सँधै तयार पनि छौं र गरिरहेका पनि छौं । तर ठूला व्यवसायिक किसानहरुका लागि जिल्ला कृषि विकास कार्यालयको खासै कार्यक्रम केही पनि हुँदैन । काठमाडौंमा कृषि क्षेत्रलाई सहयोग गर्ने हो भने व्यवसायिक किसानहरुलाई सहयोग गर्ने हो भने अलि फरक सोचले कार्यक्रम दिनु पर्दछ । एक पोका बीउ बांडेर व्यवसायिक कृषि खेती हुँदैन । अहिले व्यवसायिक रुपमा कृषि गर्नेहरु धेरै अध्ययन गरेर लाग्नु भएको छ । कतिपय किसानहरु अन्य पेशा छाडेर पनि लाग्नु भएको छ । काठमाडौं जिल्ला मात्र नभएर उपत्यकाका तिनै जिल्लालाई लक्षित गरी विशेष प्रकारका कार्यक्रमहरु सरकारले ल्याउने हो र कार्यान्वयन गर्ने हो भने उपत्यकामा पनि कृषि क्षेत्रले फड्को मार्न सक्छ । –धिरेन्द्र बस्नेत

प्रकाशित मिति: शुक्रबार, बैशाख २९, २०७४