शुक्रबार, चैत्र १६, २०८०

उन्नाइस हजार हेक्टर जमिनमा गहुँखेती

विराटनगर, २८ माघ । विगतको तुलनामा यस वर्ष मोरङ जिल्लामा गहुँखेती अत्यधिक रुपमा गरिएको छ । साथै गहुँको फसल पनि राम्रो रहेको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा सहकारी र कृषक समूहबाट उपलब्ध गराइएको गहुँको बीउ मोरङको १९ हजार १०० हेक्टर जमिनमा गहुँखेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख मनोज यादवका अनुसार विगत तीन वर्षको तुलनामा चालु आवमा गहुँको खेती अत्यधिक रुपमा गरिएको र उत्पादन पनि राम्रो हुने अनुमान छ । आव २०६८÷६९ मा १६ हजार ८७५ हेक्टर जमिनमा ३५ हजार ४३८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । त्यसबेला २.१ मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन भएको थियो । त्यस्तै २०६९÷७० मा १६ हजार ५०० हेक्टर जमिनमा ३२ हजार ६४० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । त्यसबेला १.९८ मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन भएको कृषि विकास कार्यालयद्वारा उपलब्ध तथ्याङ्कमा जनाइएको छ । यस वर्ष मोरङको रङ्गेली, डाइनिया मझारे बरडंगा, झुर्किया, हरैचा, झोराहाट बाहुनी तथा बुधनगरलगायतका ग्रामीण क्षेत्रमा गहुँखेती गरिएको प्रमुख यादवले बताउनुभयो । गहुँको बीउ बिक्रीमा अनियमितता गर्ने बीउबिजन केन्द्र इटहरीका प्रमुख भगवान शाहमाथि कारबाही प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अगाडि बढाएको केन्द्रबाट थाहाभएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २८, २०७०