शुक्रबार, चैत्र १६, २०८०

उन्नत गाई स्रोतकेन्द्र स्थापना गर्न कार्यक्रम

कञ्चनपुर, २१ पुस । गाईको दुग्घ उत्पादनमा बढोत्तरी गर्नका लागि कञ्चनपुरमा उन्नत गाई स्रोतकेन्द्र स्थापनाका लागि त्रिर्वाीय कार्यक्रम लागू भएको छ । पशुसेवा कार्यालय कञ्चनपुर र केन्द्रीय गाईभैँसी प्रवद्र्धन कार्यालय हरिहर भवनको संयुक्त सहकार्यमा कार्यक्रम लागू भएको हो । उन्नत नस्लका गाईपालनमा लागेका समूह, व्यक्ति र सहकारीलाई कार्यक्रममा समेटिने पशुसेवा कार्यालय कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीले बताउनुभयो । सयभन्दा बढी उन्नत नस्लका गाईपालनमा लागेकाहरुलाई निर्माण सुधार, मेसिनरी र गोठ व्यवस्थापनका लागि सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । यसका लागि कार्यालयले गाईपालकबाट प्रस्ताव माग गर्ने र कार्यालयमा प्राप्त हुने प्रस्तावमाथि छानबिन गरी उपयुक्त ठहरिएका गाईपालकहरुको छनोट गरी तीन वर्षसम्म सहयोग रकम उपलब्ध गराइने उहाँले बताउनुभयो । कार्यालयमा आएका प्रस्तावहरुको स्थानीय विकास अधिकारीको संयोजकत्वमा बस्ने पशु विकास समितिको बैठकले टुङ्गो लगाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । कार्यक्रमअनुसार छनोटमा परेका गाईपालकहरुलाई पहिलो वर्ष गोठ निर्माण, मेसिनरी खरिद, दूध राख्ने भाँडा खरिदका लागि रु ६ लाख, दोस्रो वर्ष रु १५ लाख र तेस्रो वर्ष रु २५ लाख अनुदानबापतको रकम प्रदान गर्ने व्यवस्था रहेको छ । “कार्यक्रम सञ्चालन गर्न कार्यालयले प्रस्तावका लागि सूचना जारी गरिसकेको छ”– अधिकारी जोशीले भन्नुभयो । उन्नत गाईभैँसी स्रोतकेन्द्र स्थापना कार्यक्रम कञ्चनपुरसहित सप्तरी, चितवन, नवलपरासी र दाङ जिल्लामा लागू गरिएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २१, २०७०