मङ्लबार, बैशाख ११, २०८१

उत्पादन बृद्धि गर्नुको विकल्प छैन

bharat devkota

भरत देवकोटा
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, ललितपु

० ललितपुर जिल्लामा कृषि उपज उत्पादनको अवस्थाका के छ ?
ललितपुर जिल्लाको उत्पादनको अवस्था हेर्ने हो भने गत बर्षको तुलनामा यसबर्ष धेरै नै राम्रो भएको छ । मौसमका कारण सरोकारवाला निकायहरुले समेत चासो बढी देखाएका कारण यसबर्ष उत्पादन बृद्धि भएको देखिन्छ । जिल्लामा प्राथमिकतामा परेको बालीहरु भनेको तरकारी बाली नै हो । त्यससंगै मकै, तोरी गहुंबाली पनि छन् । यी बालीहरुको उत्पादन बृद्धि देखिन्छ । जिल्लामा प्राथमिकतामा परेका बालीहरुको उत्पादन र उत्पादकत्व बढाउनका लागि हामी क्रियाशील भएर लागिरहेको छौं ।
० प्राथमिकतामा परेका बालीहरु चाही के के हुन त ?
जिल्ला कृषि कार्यालयको प्राविधिक अनुगमन, कृषि उत्पादन हुने क्षेत्रफलका आधारलाई समेत हेर्ने होभने प्रमुख रुपमा पहिला बालीका रुपमा तरकारी बाली र मकै बाली हुन् । भने धान र तोरी बालीलाई पनि प्राथमिकतामा परेको छ । पहाडी जिल्ला भईकन पनि तोरीको उत्पादन अत्यधिक हुने गरेको छ । गहुंपनि ललितपुर जिल्लामा उत्पादन राम्रो देखिएको छ  । त्यसैगरी अदुवा कफी पनि यो क्षेत्रमा उत्पादन भईरहेका छन् । यसलाई पनि हामीले प्राथमिकताको बालीमा राखेका छौं ।
० ललितपुर जिल्लामा शहरीकरण तीव्र रुपमा बढ्दै गईरहेको देखिन्छ । यसले गर्दा जिल्लाको कृषि उत्पादन घट्दै अवस्था छ भन्छन् त ?
अत्यन्तै राम्रो प्रश्न गर्नु भयो । ललितपुर जिल्ला राजधानीसंग जोडिएको जिल्ला भएका कारण शहरीकरण बढ्दै गईरहेको छ । त्यसैका कारण खेती योग्य भूमिहरु प्लटिङका रुपमा खण्डिकरण भईरहेको अवस्था छ । त्यत्तिमात्र होइन ललितपुर जिल्लामा ईटाभट्टाका कारण पनि उर्वर भूमिको क्षेत्रफल घट्दै गईरहेको छ । यसले वातावरणीय दृष्टिकोणले असर पार्ने त छ“दैछ । कृषि उत्पादनलाई प्रत्यक्ष रुपमा नै असर पारिरहेको छ ।
० शहरीकरण हुंदै जानु र खेतीयोग्य जमीनहरु प्लटिङका रुपमा बढ्दै गईरहेको अवस्थालाई हेर्ने हो भने आगामी दिनमा त उत्पादकत्व त घट्ने भो त ?
निश्चय पनि पछिल्लो समयको बढ्दै गईरहेको शहरीकरण र जग्गा प्लटिङका कारण भविष्यमा उत्पादन घट्ने मात्र होइन खेती योग्य जग्गा नै नपाइने हो कि भन्ने शंका पनि छ । उत्पादकत्व बृद्धि गर्नका लागि क्षेत्रफल विस्तार गरेर गर्न सकिन्छ भने अर्को उत्पादन बृद्धि गरेर पनि उत्पादकत्व बृद्धि गर्न सकिन्छ । हामीले क्षेत्रफल विस्तार गरेर उत्पादकत्व बृद्धि गर्न सम्भावना छैन । प्लटिङ गर्ने कार्यलाई पनि सरकारले रोक्न सक्ने अवस्था देखिंदैन । त्यसकारण हामीले नयां प्रविधिहरुको विस्तार, र आधुनिकीकरण गर्दै उत्पादन बृद्धि गर्नुको विकल्प नै छैन ।
० जमीन खण्डिकरण बढ्दै गईरहेको छ, शहरीकरण बढ्दै गईरहेको छ । जसले गर्दा कृषि उत्पादनमा असर परिरहेको छ भन्नु भो त्यसका लागि त भूउपयोग नीति छ नि होइन ?
हो । भूउपयोग नीति छ । तर भूउपयोग नीति कार्यान्वयन भएको देखिंदैन । भूउपयोग नीति कार्यान्वयन नहुंदा ललितपुर जिल्ला मात्र होइन समग्र मुलुककै लागि घातक हुने देखिएको छ । पूर्वदेखि सुदूरपश्चिमसम्मका मलिला फांटहरुलाई हेर्ने हो भने अहिले प्लटिङगका कारण खेतीयोग्य भूमि जमिन देखिन छाडिसकेको छ । कुन जमीनमा घर बनाउने, कुन जमीनमा खेती गर्ने भन्ने कुरा भूउपयोग नीतिमा छ । हामी जति सक्दो चांगो जमीनको बर्गीकरण गरेर खेती योग्य, औधौगिक क्षेत्र र आवास निर्माण भनेर छुट्याउन सकेर्नौ भने भविष्यमा विकराल अवस्था आउन सक्छ ।
० ललितपुर जिल्लामा कृषि उत्पादन बृद्धि गर्नका लागि समस्या के मा छ ?
सवैभन्दा पहिलो समस्या भनेको नै जमीन हो । दिनप्रतिदिन खेतीयोग्य जमीन घट्दै गईरहेको छ । विकास निर्माणसंगै खेतीयोग्य जमिन अन्य प्रयोजनका लागि प्रयोग भईरहेका छन् । अर्को कुरा भनेको ललितपुर जिल्ला पहाडी जिल्ला भएका कारणले बाढी पैरो र भूक्षयबाट पनि खेती योग्य जमीनलाई प्रभावित बनाईरहेको छ । कृषि सडक, ग्रामिण सडक निर्माण एकातिर सकारात्मक छ भने अर्कोतिर गैर इन्जिनियरिङ रुपमा बनाइएका बाटोका कारण धेरै असर पनि परिरहेको छ । किसानहरुको मागको आधारमा सिंचाई तथा कृषि प्रविधिहरुको समेत समस्या छ । सिंचाईको अभावका कारण पनि कृषि उत्पादन बृद्धि गर्नका लागि समस्या परिरहेको छ ।
० कृषि उत्पादनको महत्वपूर्ण पाटो सिंचाई हो तर सिंचाई सुविधा नभै कृषि उत्पादन बृद्धि हुन्छ ?
गहन प्रश्न गर्नु भएको छ । ललितपुर जिल्लामा बढ्दो शहरीकरणले गर्दा उपमहानगरपालिका र नगरपालिका क्षेत्रहरुमा खानेपानीकै अभाव छ भने सिंचाईको त सम्भावना नै देखिदैन । तर दक्षिण १९ गाविसहरु पहाडी क्षेत्र भएका कारण सिंचाई अत्यन्तै समस्या छ । सिंचाईको श्रोत पनि अत्यन्तै कम रहेको छ । जसले गर्दा ती गाविसहरुमा तरकारी बाली तथा धानबाली उत्पादनका लागि पनि निकै गाह्रो भईरहेको छ । भने बाली सघनता बृद्धि गर्नका लागि निकै असहज छ । सिंचाईका लागि जिल्ला निकै जटिल अवस्थामा छ । सिंचाई सुविधा नभएसम्म उत्पादन बृद्धि गर्छु भन्ने कुरा पत्याउन पनि गाह्रो हुन्छ ।
० तर हरेक बर्ष धेरै नै सिंचाईका कार्यक्रम तय गरेको देखिन्छ त ?
त्यस्ता योजनाहरु विगतमा थिए होलान् मैले भर्खरै आएका कारण पुरै अध्ययन गर्न पाएको छैन । त्यस्ता आयोजनाहरु कहां कहां भएका छन् । वा किन भएन भन्ने कुरामा हामी पनि लागि पर्ने छौं भने सम्वन्धित सरोकारवाला निकायसंग समन्वय गरेर सिंचाई सुविधा पु¥याउनका लागि हामी लाग्ने छौं ।
० कृषि विभाग र मन्त्रालयले के गरिदियो भने समस्या निराकरण हुन्छ होला त ?
यदि साँच्चै नै कृषि उत्पादनमा बृद्धि गर्ने हो भने सरोकारवाला सरकारी निकायहरुसंगको समन्वयमा भूपयोग नीतिलाई कार्यान्वयन गराउनु पर्दछ । त्यस्तै जिल्ला माग भएर पठाईएका कार्यक्रमहरुको स्वरुप परिवर्तन भएर आउने भएका कारण समस्या छ । जिल्लाको माग र आवश्यकता अनुसारका कार्यक्रमहरु स्वीकृत गर्ने भौगोलिक अवस्था अनुरुपमका बस्तु बालीलाई प्राथमिकतामा राख्ने हो भो धेरै समस्या समाधान हुन्छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, माघ १७, २०७३