शुक्रबार, चैत्र १६, २०८०

उत्पादन बढाउन गड्यौलापालन

लहान,२८ असार । गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । जिल्लामायस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्यसमा सुधार ल्याउन किसानले गड्यौलापालनबाट भर्मिक मल उत्पादन गर्न सुरु गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालय सिरहाको सहयोगमा किसानले अन्न तथा तरकारी बालीको उत्पादनमा वृद्धि ल्याउन रासायनिक मल र अन्य विषादीको साटो खेतमा गड्यौलापालन गर्न थालेका छन् ।
जथाभावी रुपमा प्रयोग गरिने रासायनिक तथा अन्य विषादीका कारण माटोको उर्वरा शक्ति समाप्त हुनुका साथै बाली उत्पादनमा समेत ह्रास आउन थालेकाले माटोको उर्वरा शक्तिमा सुधार ल्याउन खेतमा गड्यौला जुका पाल्न सुरु गरेको सिरहाको फुलकाहाकट्टीका किसान पाण्डवकुमार मण्डलले बताए ।
खेतमा पालिने गड्यौला किराले उत्पादन गर्ने भर्मिक किरा मलका कारण माटोको उर्वरा शक्ति बढ्नुका साथै उत्पादन वृद्धिका लागि अन्य कुनै रासायनिक मल र विषादीको प्रयोग गर्नु नपर्ने भएकाले पनि गड्यौलापालनतर्फ किसान आकर्षित भएको मण्डलको भनाइ छ ।
उनले भने, “पहिला पहिला गड्यौलाको महत्व थाहै थिएन, पछि कृषि विकास कार्यालयले गड्यौलाको महत्व र पालनबारे तालिम दिएपछि यहाँका किसानहरुले गड्यौलापाल्न थालेको हो ।” गड्यौला किराले बनाउने भर्मिक मलमा बिरुवालाई आवश्यक मात्रामा चाहिने युरिया, डिएपी र पोटासका साथै अन्य तत्वसमेत पाउने भएकाले गड्यौलापालन थालेको मण्डलको भनाइ छ ।
“गड्यौलाको महत्व थाहा पाएपछि करिब तीन कट्ठा जग्गामा गड्यौलापालन सुरु गरेको छु,” मण्डल भन्छन् – “यसैबाट थप गड्यौला उत्पादन गरेर आफ्ना अरू खेतमा पनि विस्तार गर्ने, बाँकी रहेको अरू किसानलाई समेत बिक्री–वितरण गर्ने योजना बनाएको छु ।” कम लगानीमा राम्रो प्रतिफल देखिएकाले पनि गड्यौलापालनमा किसानको रुचि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, असार २८, २०७३