बिहिबार, बैशाख १३, २०८१

उखुखेतीबाट विभिन्न समस्या देखिएपछि उखुखेती नै छाड्न थाले

परासी, २५ पुस । नवलपरासीका उखु किसान उखुखेतीबाट विभिन्न समस्या देखिएपछि उखुखेती नै छाड्न थालेका छन् । वर्षांैदेखि उखुखेती गर्दै आएका नवलपरासीका किसानले उखुको मूल्य समयमा नतोकिने, समयमा भुक्तानी नपाउने, मलखाद नपाउने र उखु विकासका लागि सरकारले कुनै सहुलियत प्रदान नगरेपछि उखुखेती छाडेर वैकल्पिक खेती थालेका हुन् । उखु बाली लगाउँदा उखुको उब्जनी वर्षमा एकपटक हुने र चिनी मिलहरूले उखु लिएर पनि एक वर्षसम्म उखुको भुक्तानी नपाउने जस्ता समस्याका कारण वैकल्पिक पेसा थाल्न उनीहरू बाध्य भएका हुन् । नवलपरासीको कुडियाँ, पक्लिहवा, नसही, गुठीसूर्यपुरा, गुठीपसौनी लगायतका दर्जन गाविसका स्थानीयवासीले उखुको वैकल्पिक पेसामा केराखेती गर्न थालेका छन् । जिल्लाको गुठीपसौनी गाविसका कमलेस गुप्ताले करिब आठ वर्षदेखि उखुखेती गर्दै आएकामा अहिले आफ्नो आठ बिघा जग्गामा केराखेती गरेर प्रशस्त आम्दानी भएको बताउनुभयो । नवलपरासीका चिनी मिलहरूले पछिल्लो समयमा कहिले चिनी बिक्री भएन, कहिले भाउ भएन भन्दै आएकामा अहिले आएर राजनीतिक दलका नेता र समितिलाई चन्दा दिनु परेका कारण उखुको भाउ दिन नसकेको गुप्ताको भनाइ रहेको छ । नवलपरासीमा करिब १० हजार परिवारले उखुखेती गर्दै आएका छन् भने बर्सेनि करिब २५ देखि ३० लाख क्विन्टल उखु उत्पादन हँुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सरकारले उखुको मूल्य नतोकेपछि किसानले चिनी मिलसँग लिएको उखुको पूर्जीसमेत चिनी मिलसँग मिलेर दलालहरूले प्रति क्विन्टल ३२० रुपैयाँमा खरिद गर्ने गरेको प्रतापपुर गाविसका स्थानीयवासी सुरेश मिश्रले बताउनुभयो । चिनी मिलहरूले उखुको मूल्य कायम नगरेपछि भेली उद्योगलाई प्रति क्विन्टल ३३० रुपैयाँमा उखु दिन बाध्य भएका छन् । सरकारले उखुको मूल्य गत वर्ष नै प्रति क्विन्टल ४८१ रुपैयाँ तोकेको थियो ।

प्रकाशित मिति: बिहिबार, पुस २५, २०७०