बिहिबार, चैत्र १५, २०८०

उखुको मूल्य निर्धारण गर्न माग

नवलपरासी, ७ पुस । किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् । उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लामा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नगर्दा तथा उचित मूल्य नपाउँदा किसान उखुखेती छाडी वैकल्पिक खेतीतर्फ लागेका छन् ।
गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताए । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी क्रमशः उत्पादन घटाउँदै लगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४