शुक्रबार, चैत्र १६, २०८०

उखुको भुक्तानी नपाउँदा किसान धर्नामा

बर्दिवास,जेठ । मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राखेका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य माग गर्दै धर्नामा बस्न बाध्य भएका हुन् ।
उद्योगमा गत मंसिरमा उखु क्रसिङ सञ्चालन भएपछि अहिलेसम्म उखुको मूल्य नपाएकाले जेठ ६ गतेदेखि धर्ना शुरु गरेका हुन् । उत्पादनको माग्दै धर्नामा बस्नु परे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको सम्बद्ध किसानको गुनासो छ ।‘देशभरि नै आज गणतन्त्र दिवसको उत्सव मनाइँदै छ रे’ उखुको मूल्य देउ भन्दै उद्योगको ढोकमा धर्ना बसेका उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “हामी किसानले भने यो राष्ट्रिय पर्वका दिन उखुको मूल्य देऊ भन्दै धर्नामा बस्नु परिरहेछ ।”उद्योगले सधैँजसो कहिले मूल्यमा र कहिले भुक्तानीमा बखेडा गर्दै आएको किसान बताउँछन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १५, २०७५