बिहिबार, बैशाख १३, २०८१

आलु बाली स्थापित हुँदै

ताप्लेजुङ,  पुस। हिमाली जिल्ला ताप्लेजुङमा आलु खेती नगदेबालीका रूपमा स्थापित भएको छ । यसबाट राम्रो आम्दानी हुन थालेसँगै जिल्लाको प्रमुख नगदेबाली अलैँचीपछि अर्को नगदेबालीका रूपमा आलु खेती स्थापित भएको पाइएको हो । तथ्याङ्क अनुसार जिल्लामा वार्षिक तीन अर्ब रुपियाँ बराबरको आलु उत्पादन हुँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले अघिल्लो वर्षभन्दा यो वर्ष आलुको उत्पादन केही बढ्नसक्ने अनुमान गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष आलु उत्पादनमा वृद्धि भएमा सोही अनुपातमा किसानको आम्दानी पनि तीन अर्ब रुपियाँ बढी हुनेछ । कृषि विकास कार्यालयका योजना शाखा प्रमुख मित्रलाल पौडेलले गएको वर्ष वर्षे र हिउँदे दुवै सिजनको खेतीबाट कुल ४८ हजार ५५१ मेट्रिकटन आलु उत्पादन भएको जानकारी दिए ।
शाखा प्रमुख पौडेलका अनुसार गएको वर्ष तीन हजार २५ हेक्टर क्षेत्रफलबाट ३७ हजार ८१३ मेट्रिकटन वर्षे र ९१० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दस हजार ७३८ मेट्रिकटन हिउँदे आलु उत्पादन भएको छ । यो वर्षको आलु उत्पादनको पूर्ण तथ्याङ्क आई नसकेको तर खेती पनि केही विस्तार भएको र खेती विस्तारसँगै उत्पादन वृद्धि भएको कार्यालयले अनुमान लगाएको छ ।
यता आलुको औसत बजार मूल्य ६० रुपियाँ प्रतिकेजी कायम गरेर कृषि विकास कार्यालयले किसानले उत्पादन गरेको आलुको आम्दानी मापन गरेको जनाएको छ । कार्यालयको मूल्य मापन अनुसार किसानले हिउँदे र वर्षे गरी दुई सिजनमा चार करोड ८५ लाख ५१ हजार केजी आलु उत्पादन गरेका र प्रतिकेजी ६० रुपियाँ मूल्य दरले किसानले दुई अर्ब ९१ करोड ३० लाख ६० हजार रुपियाँ बराबरको आलु उत्पादन गरेका छन् । यो वर्ष ५० हजार ५०० मेट्रिकटनसम्म आलु उत्पादन हुने र यसबाट किसानले तीन अर्ब ३० करोड रुपियाँ बराबर आम्दानी गर्नसक्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४