बुधबार, बैशाख १२, २०८१

आफैले गर्ने हो भने कृषि व्यवसायमा फाइदा छ

विदेशमा जस्तै नेपालमा पनि कृषि व्यवसायलाई पेशामा रुपमा स्थापित गर्न सकिए मुलुकको समृद्धिका लागि महत्वपूर्ण टेवा मिल्न सक्छ । त्यसैले पनि विदेशका धेरै र राम्रा अवसरहरु छाडेर खेती किसानी गर्दा पक्कै पनि समाजले हेर्ने दृष्टिकोण सकारात्मक र प्रोत्साहन हुनु पर्नेमा नेपालको सन्दर्भमा त्यसो हुन सकेन । तर पनि समग्र कृषि क्षेत्रको परितर्वन गर्ने हो भने आफैबाट शुरुवात गर्नु पर्दछ भन्ने सोचले करीव पौने करोड लगानी गरेर भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ बागेश्वरीमा एभरग्रिन फ्लोरा एण्ड एग्रिकल्चर फार्म सञ्चालन गरी नेपालको कृषि तथा पुष्प व्यवसायमा प्रतिवद्ध भएर लागेकी फार्मकी प्रवन्ध निर्देशक राधा मताङ्गीसँग गरिएको वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश :
० कहिलेदेखि शुरु गर्नु भो फार्म ?
पाँच वर्ष अगाडि कृषि क्षेत्रले नै मुलुकलाई समृद्ध बनाउन सम्भव देखेर २२ रोपनी जग्गा भाडामा लिएर पुष्प खेतीसँगै व्यवसायिक तरकारी खेती गर्नका लागि फार्म शुरु गरेकी छु । फार्म सञ्चालन गर्नु भन्दा अगाडि जुन सोच लिएर गरिएको हो । व्यवहारिक रुपमा सोच जस्तै हुँदो रहेनछ ।
० कत्तिको सहज रहेछ छ कृषि खेती गर्न ?
सहज भन्दा पनि मेहनत गर्नु पर्ने पेशा हो । आजको सट्टा भोली गरौला भन्ने हुँदन । अरुको भरमा गरौला वा एकछिन पछि गरौला भन्ने काम पनि होइन यो । कठिन परिश्रम गर्नु पर्ने, सँधै माटोमा नै खेल्नु पर्ने भएकाले वास्तविक रुपमा कृषि फार्म नै चलाएर बस्छु भन्ने भित्रि मन देखि नलाग्ने हो भने कृषि फार्म सञ्चालन गर्नु जस्तो कठिन कार्य हरु केही पनि छैन जस्तो लागेको छ ।
० पाँच वर्षदेखि किन निरन्तर लागिरहनु भएको छ त ?
यो मेरो रोजाइँको व्यवसाय हो । अरु व्यवसायमा भन्दा कृषि पहिलेदेखि नै मेरो मनपर्ने भएकाले पनि अन्य पेशा वा व्यवसायन गरेर फार्म सञ्चालन गरेकी हुँ । अर्को कुरा नेपालमा निकट भविष्यमा नै हुन सक्ने खाद्य संकट, खेर गएको जमीनहरुलाई सदुपयोग गरेर त्यसलाई उत्पादन योग्य बनाउनु पर्दछ भन्ने मेरो पहिलेदेखि नै सोच थियो । आफ्नो सोच अनुरुप नै काम गर्ने योजना बमोजिम मैले कृषि फार्मलाई निरन्तरता दिएको हुँ । त्यसमा अरु कारण नै छैन ।
० तपाइँको फार्मबाट उत्पादन हुने बस्तुहरु चाहि के के हुन् नि ?
विगतमा हामीले नेपालको पुष्प व्यवसायलाई प्रवद्र्धन गर्नु पर्दछ भन्ने सोचले पुष्प खेतीलाई प्राथमिकता दियौं । जुन अहिले पनि गरिरहेका नै छौं । नेपालमा बर्षेनी करोडौं रुपैयाँको पुष्प भित्रिरहेको छ । त्यसलाई घटाउन सक्ने हो भने नेपालको पुँजि बाहिर जाँदैनथ्यो भन्ने लागेर हामीले आफै दिनरात खटिएर काम गरिरहेको छौं । राम्रो उत्पादन गर्न सक्ने हो भने हामीले उत्पादन गरेको फूलहरु विश्व बजारमा पु¥याउन सक्छौं । त्यसका लागि राज्यले पनि विशेष भूमिका निर्वाह गर्नु पर्दछ । अर्को कुरा हामीले फार्म भित्र पुष्प खेती मात्र गरेका छैनौ । फार्मलाई व्यवसायिक रुप दिनका लागि त्यहाँ भित्र तरकारी खेतीलाई पनि प्राथमिकता दिएका छौं । पुष्प खेती र तरकारी खेतीलाईसँग सँगै लिएर हामी हिडेका छौं ।
० तपाइँले विदेशको जागिरको अवसर छाडेर नेपालमा नै कृषि फार्म सञ्चालन गर्नु भने किन नगएको विदेश ?
विदेशमा काम गरेर खुशी हुन सकिन्छ भन्ने ग्यारेण्टी के छ र । होला विदेशमा पैसा राम्रै कमाईएला । तर पैसाले मात्र त काम गर्दैन नि । हामीले आफ्नो देशलाई समृद्ध बनाउने हो भने देशमा नै बसेर केही गर्नुपर्दछ । विदेश हेर्न जाने हो । त्यहाँको प्रविधि सीप सिकेर आउने हो र आफ्नै देशमा उत्पादन गर्ने हो भन्ने भावना आफ्नो भएकाले मैले अमेरिका, जापान, कोरियामा काम नगरी यही नै काम गरेको हुँ ।
० तर पुष्प व्यवसायको कुरा गर्ने हो भने नेपालका पुष्पखेती गरेर पनि बजार पाउन गाह्रो छ भन्छन् नि त ?
होइन, हामीले पुष्प खेती गर्न सक्यौं भने बजार पाउन पनि गाह्रो छैन । अरु खेती भन्दा बढी फाइदा पनि छ । समस्या के हो भने हामीले भारतीय बजारसँग प्रतिष्पर्धा गर्न सक्छौं कि सक्दैनौ भन्ने हो । भारतमा सरकारले कृषि उत्पादन गर्ने किसानलाई प्रशस्त अनुदान दिने गरेको छ । तर नेपालमा काम गर्नेलाई भन्दा फाइल बनाउन सक्नेले अनुदान पाईरहेको छन् । खेती किसान गरी उत्पादन बढाउछु भन्नेको हातमा सरकारी अनुदान पुग्न नै सक्दैन । सरकारले पुष्पखेतीको विकासका लागि लगानी गरोस् न । पुष्पको माग निकै छ, ती सवै भारतका कारण पुगिरहेको छ । हामीले पुष्प खेती यही गर्ने हो भने भारतका फूल किन्नु नै पर्दैन । बजार नभएको होइन बजार प्रशस्त छ बरु हामीसँग उत्पादन भएको चाहिँ हो ।
० कृषि व्यवसाय गर्नेहरुका लागि कृषि ऋण पनि सहज रुपमा दिने व्यवस्था छ रे नि पाउनु भो ?
सरकारले जति नै सहुलियत कृषि ऋणका कुरा गरेपनि त्यो किसानले पाउने अवस्था छैन । यो वा त्यो झण्झटमा लगाउने, प्रक्रियामा अल्झाउने काम भईरहेको छ । सहुलियत दरका किसानलाई ऋण दिने कुरा भनेको कागजमा मात्र सिमित छ । वैंकहरुले कृषिमा ऋण प्रवाह नै गर्न चाहँदैनन् । सवारी साधन, घरजग्गाका लागि ऋण लिन जति सजिलो छ त्यो भन्दा निकै कठिनाई कृषि ऋणमा छ । सवारीका लागि ऋण लिन जानेलाई हेर्ने दृष्टिकोण र कृषि ऋण लिन जानेलाई हेर्ने दृष्टिकोण नै फरक छ वैकहरुको । सकेसम्म एउटै ठूलो व्यापारीलाई कृषि ऋण दिन पायो भने वैकहरु दङ्ग हुन्छ । यस्तो अवस्थामा कृषि ऋण सहज छ भन्नु गलत हो ।
० तपाइँ कृषिमा भविष्य देख्नु भएको छ करीव करीव एक करोड लगानी गरिसक्नु भएको छ तर धेरैले भन्ने गर्दछन् कृषिमा लगानी गरेर डुवियो खास कुरो के हो ?
अरुको भरमा कृषि उपज उत्पादन गर्दछु, कर्मचारी वा कामदारको भरमा कृषि गर्दछु भन्यो भने डुब्न सक्ला तर आफैले खेतबारीमा नगई माटो नै नछोई व्यवसायिक कृषि गर्दछु भन्यो भने त्यसरी चाहि लगानीकर्ता डुब्न सक्छ । हामी त आफैले काम गरिरहेका छौं । विरुवालाई प्रत्येक दिन रेखदेख गरिरहेका छौं । जवसम्म आफ्नो पेशा तथा व्यवसायमा बफादार ढंगले आफै सक्रिय रुपमा लागिदैन तव फाइदा गर्दछु भन्नु गलत हो । अर्को कुरा सरकारी अनुदान हात पार्नका लागि पनि धेरै त्यस्ता फार्महरु सञ्चालनमा आएका छन् । जसले गर्दा काम नै नगरी फार्म चलाउने सोच भएका व्यक्तिहरु पनि डुवेका छन् । तर आफै संलग्न भएर कृषि व्यवसाय गर्ने हो भने लगानी डुब्ने भन्ने कुरै आउँदैन फाइदा लिन सकिन्छ ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५