शुक्रबार, चैत्र १६, २०८०

आन्दोलन बन्द उखु क्रसिङ सुरु

पर्सा, १७ चैत । उखुका किसानहरु कुनै न कुनै बहानामा मारमा परिरहेका देखिन्छन् । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उखुको चलानपुर्जी वितरण नगरेका कारण उखु क्रसिङ रोकिएको थियो । आज चलानपुर्जी वितरण गर्न सुग मिलले सहमति जनाएपछि पर्साका कृषकले लगाएको उखु क्रसिङ सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको वार्तामा रिलायन्स सुगर मिलको व्यवस्थापन पक्षले पर्साका किसानले उत्पादन गरेको उखु लिनका लागि चलानपुर्जी वितरण गर्ने सहमति जनाएको हो । बाराका उखु किसानले दबाबमा चिनी मिलले पर्साका उखु किसानलाई चलानपुर्जी रोकेपछि पर्साका उखु उत्पादक किसानले केही दिनदेखि चिनी मिलको विरोधमा आन्दोलन गर्दै आएका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय र स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरको विशेष उपस्थितिमा आन्दोलनरत उखु किसान र मिल व्यवस्थापन पक्षबीच भएको आइतबार वार्तामा मिल व्यवस्थापनले बाराका किसानका लागि ६५ प्रतिशत र पर्साका किसानका लागि ३५ प्रतिशतका दरले चलानपुर्जी वितरण गर्ने सहमति जनाएको हो ।
यसैगरी वार्तामा रिलायन्स चिनी मिलको व्यवस्थापन पक्षले उखुको चलानपुर्जी वितरणमा पर्साका किसानलाई विभेद नगर्ने प्रतिबद्धता पनि जनाएको वार्तामा सहभागी जिल्ला कृषक हकहित सङ्घर्ष समिति पर्साका सचिव साबिर अहमद एराजले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७०