शुक्रबार, चैत्र १६, २०८०

आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

चितवन, २ माघ । रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताए ।
यो प्रविधि काठमाडौँबाट ल्याएर रत्ननगर महोत्सवको कृषि परिसरमा प्रदर्शन भइरहेको छ । पानीको तहमा मिल्ने गरी यन्त्र जडान हुन्छ । त्यो पानीको बहावले चक्का घुम्न थाल्छ । चक्कामा पंखा (पाटा) जडान भएको हुन्छ । त्यसले पानीलाई जोहो गरी पाइपको माध्यमबाट माथि फाल्न मद्दत गर्छ ।
मुख्य गरी विद्युत् सुविधा नभएका ठाउँका लागि उपयोगी उक्त प्रविधितर्फ पछिल्लो केही समयदेखि किसानको आकर्षण बढ्दै गएको छ । सरकारले अनुदान दिने गरेकाले किसानको लागत कम लाग्छ । दिनमा यसले २० हजारदेखि ४० हजार लिटरसम्म पानी तान्ने गर्छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २, २०७४