शुक्रबार, बैशाख ७, २०८१

आधुनिकीकरण तर्फ कुखुरा व्यवसाय

hen house

चितवन, १ चैत । बर्डफ्लुको हैरारी खेपेको भएपनि प्रविधि भित्रन थालेपछि रोजगारीको ठूलो हिस्सा वोकेको कुखुरा पालन व्यवसाय फेरि फस्टाउन थालेको छ । कुखुरा व्यवसायको राजधानीका रुपमा परिचित भएको चितवन जिल्लामा कुखुरापालन व्यवसायमा आधुनिक प्रविधि भित्रिएसँगै विगतको तुलनामा कुखुराजन्य उत्पादनमा वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।
कुखुरा पालिएका देशका प्रमुख ठाउँहरूमा बर्डफ्लुका कारण धेरै नोक्सानी व्यहोर्नु परेपछि चितवनका केही ठूला व्यवसायीले वातावरण अनुकूलित खोरहरू निर्माण गरी आधुनिकतातर्फ लागेका छन् ।
कुखुरा व्यवसायमा आधुनिक प्रविधिहरू समयअनुसार भित्रिँदै गएको छ । पछिल्लो समयमा दानामा प्यालेट दाना उत्पादन गर्ने प्रविधिको विकास हुँदै गएको छ भने खोरहरू वातावरण अनुकूलित बनाउन थालिएको छ ।
प्रविधिको प्रयोग जति बढेको छ उत्पादन पनि त्यत्तिकै बढ्दै गएको व्यवसायीहरूको धारणा छ । आधुनिक प्रविधिका लागि लगानी ठूलो हुन्छ । चितवनका दिव्य ह्याचरी, अविनाश ह्याचरी, कञ्चन पोल्ट्री र खनाल पोल्ट्रीले वातावरण अनुकूलित खोर निर्माण गरी उत्पादन लिन सुरु गरेका छन् । अन्य व्यवसायी पनि सो प्रविधि भित्र्याउने तयारीमा छन् ।
दिव्य ह्याचरीका सञ्चालक टीकाराम पोख्रेल वातावरण अनुकूलित खोरहरू सुरक्षित हुने र कुखुराको मृत्युदरमा कमी आउने बताउनुहुन्छ । पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोख्रेलले उत्पादनमा वृद्धि हुने निश्चित भए पनि उत्पादन भइरहेकाले कति प्रतिशत वृद्धि हुन्छ एकिन तथ्याङ्क आउन केही समय लाग्ने बताउनुभयो ।
साधारण खोरभन्दा ती खोरहरू निर्माण गर्दा दोब्बर खर्च हुने गर्दछ । त्यस्तै नेपालमा १८ वटा पेलेट दाना उद्योग स्थापना भएका छन् । ती उद्योग सञ्चालन निकै खर्चिलो छ । दाना उद्योग सङ्घका निवर्तमान अध्यक्ष शङ्कर कँडेल एउटा उद्योग स्थापना गर्न न्यूनतम रु २० करोड खर्च हुने बताउनुहुन्छ । साधारण दानाको तुलनामा पेलेट दाना खुवाइएका कुखुराबाट बढी उत्पादन लिन सकिने व्यवसायी बताउँछन् ।
कुखुरापालक तथा पोल्ट्री विज्ञका अनुसार नेपालमा खपतको तुलनामा कुखुरा उत्पादन बढ्दै जाँदा कुखुराजन्य कच्चा पदार्थको सङ्कट व्यवसायीले भोग्नुपरेको देखिएको छ । कुखुरा उत्पादन बढे पनि अझै प्रतिस्पर्धी हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
छिमेकी देश भारत र चीनसँगको प्रतिस्पर्धामा नेपालका कुखुरा व्यवसायी पुग्न नसकेको उनीहरूको धारणा छ । नेपालमा कुखुरापालनका लागि आवश्यक पर्ने ६० प्रतिशत कच्चा पदार्थ भारतबाट मगाउनुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् ।
कुखुरामा विद्यावारिधि गर्नुभएका डा तिलचन्द्र भट्टराईले छ वर्षदेखि नेपालमा कुखुराको उत्पादन क्रमशः बढ्दै गएको बताउनुभयो । मागअनुसारको खपत र आधुनिक प्रविधिले धेरै किसानलाई व्यावसायिक बनाउँदै लगेको छ, प्रविधिका कारण उत्पादन सोहीअनुरूप बढेको हो, उहाँले पछिल्ला वर्षमा चल्ला उत्पादन गर्ने ब्रोइलरको माउ कुखुरा र मासुका लागि पालिने ब्रोइलर उत्पादन बढेको बताउनुभयो । कुखुरा पाल्ने खोर, दाना, बिक्री वितरण र बजारमा आधुनिक प्रविधिले उत्पादन बढाएको उहाँको तर्क छ ।
उत्पादन बढ्दै गएपछि नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले अहिले अण्डा बिक्रीबाट कृषकले आफ्नो लागत मूल्य उठाउन सक्ने अवस्था रहेको बताउनुभयो । केही समय अगाडिसम्म चाहेर पनि उत्पादन बढाउन सक्ने अवस्था थिएन तर अहिले भने धेरै सुधार आएको छ, केसीले थप्नुभयो ।
देशभरमा ६५ हजार नागरिकले यसमा रोजगारी पाएको तथ्याङ्क रहेको छ । नेपालका ७५ वटा जिल्लामा नै व्यावसायिक रूपमा कुखुरापालन गरिएको व्यवसायीहरूले बताएका छन् । चितवनमा मात्र देशको कुल उत्पादनको ६० प्रतिशत रहेको छ । चितवनलाई कुखुराको पकेट क्षेत्रका रूपमा लिइएको छ ।
उत्पादनको हिसाबले देशभरमा दैनिक १७ लाख ८० हजार अण्डा उत्पादन हुने गरेको छ । ब्रोइलर कुखुराको चल्ला हरेक हप्ता १० लाख उत्पादन हुन्छ भने लेयर्स चल्लाको उत्पादन हरेक हप्ता ७५ हजार हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, चैत्र १, २०७०