बिहिबार, चैत्र १५, २०८०

आज भाईटिका: शुभसाईत विहान ११ः५५ मा

काठमाडौं, कार्तिक । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम छ, भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”–उनले भने ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १२, २०७६