शुक्रबार, बैशाख ७, २०८१

आगलागीबाट घर र कुखुराको फार्म नष्ट

वीरगन्ज (पर्सा), २७ चैत । भौराटार गाविस–६ मा आज बिहान फूलकवल टोलका जितेन्द्र यादवको कुखुरा फार्ममा आगलागी हुँदा त्यहाँ रहेका दुई हजार कुखुरा र दुई खसी जलेर मरेका छन् । विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट फार्मका साथै नजिकै रहेको हरिनारायण यादव, जोखन यादवलगायत अन्य पाँच घर तथा घरमा रहेका लत्ताकपडा, गरगहना, खाद्यान्न गरी रु छ लाख मूल्य बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प बहुअर्वा भाटाका सशस्त्र प्रहरी निरीक्षक अमित मल्लले जानकारी दिनुभयो । आगो वीरगन्जबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । यस्तै गए राति नै हरपुर गाविस वडा नं ६ एकटाँगाका शिवपूजन यादवको गोठमा लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी हँुदा घरमा रहेका लत्ताकपडा, अन्नपात गरी र एक लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक ओमप्रकाश भट्टराईले बताउनुभयो । पर्सामा पछिल्ला दिनमा गर्मीसँगै आगलागीका घटनामा वृद्धि भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०