शनिबार, बैशाख ८, २०८१

असल कृषि अभ्यासको लोगो सार्वजनिक

काठमाडौं, कार्तिक । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल असल कृषि अभ्यासको आधिकारिक लोगो सार्वजनिक गरेका छन ।
राजधानीमा आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्दै कृषि मन्त्री खनालले असल कृषि अभ्यास अहिले सान्दर्भिक नभएको भन्दै आफनो देश अनुकूल ल्याउने गरेको बताए । उनले वास्तविक रुपमा नै असल कृषि अभ्यासलाई कार्यान्वयन गर्ने हो भने कृषि विकास मन्त्रालयले कृषि उत्पादनका लागि दिएका अनुदान कार्यक्रममा यसलाई जोड्नु पर्ने बताए ।
असल कृषि अभ्यास कार्यान्वयनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रयत्न गर्ने बताउँदै मन्त्री खनालले बजारीकरणमा लागि यो अभ्यास गर्नु उपयुक्त भएको समेत बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा युवकध्वज जीसीले नेपाली किसानहरुले विगतदेखि नै आफूले उत्पादन गरेको कृषि उपजको पहिचान खोजेको र त्यो पहिचान अव प्राप्त भएको बताए । उनले विगत लामो समयदेखि नेपाली किसानहरुले आएपिएम प्रविधि मार्फत कृषि उत्पादन गर्दै आईरहेकोले सो प्रविधि र अर्गानिक कृषि नै असल कृषि अभ्यास भएको चर्चा गरेका थिए ।
असल कृषि अभ्यासको लोगो कोदो, जौ फापरमा विगतदेखि नै लगाउने सक्ने भएपनि त्यसो गर्न ढिलाई भएको समेत उनले बताए । खाद्य स्वच्छताको बहस चलिरहेका बेला कृषि उत्पादक तथा उपभोक्ता दुवैले आफ्नो सोचमा परिवर्तन ल्याउनृ पर्ने उनको धारणा थियो ।
सो कार्यक्रममा नेपाल असल कृषि अभ्यासको महत्व र विगतदेखि गरिएको प्रयास र यथार्थताका बारेका कृषि विकास मन्त्रालयका कृषि विज्ञ अरुण जीसीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५