बिहिबार, चैत्र १५, २०८०

अव मिल्क होलिडे हुन्न रे !

काठमाडौं, जेठ । हरेक वर्ष किसानहरुले उत्पादन गर्ने गरेको दूधले बजार नपाउँदै मिल्क होलिडेको समस्या विकराल वन्दै गईरहेको छ । तर कृषि मन्त्री भन्छन् अव मिल्क होलिडे हुन्न । दूध उत्पादन गर्ने किसानहरुले आफ्ना समस्या समाधान गर्न सिंहदरबार पुग्दा किसानहरुलाई आश्वासन दिंदै कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले अव कुनै पनि दिन मिल्क होलिडे हुन दिन्न भनेका छन् । राष्ट्रिय व्यवसायिक पशु पालन तथा दूध उत्पादक कृषक समाजका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री खनालले सो कुरा बताएका हुन् ।
कृषि मन्त्री खनालले मन्त्री भएर आएदेखि नै किसानका पक्षमा काम गर्ने बताईरहँदा हालसम्म पनि कुनै पनि कार्यक्रमहरु कार्यान्वयनमा आउन सकेको देखिंदैन । तर पनि उनले किसानलाई आश्वासन दिन भने छाडेका छैनन ।
विगतमा किसानहरुले उत्पादन गरेको दूध विक्री हुन नसक्दा सडकमा पोख्न वाध्य हुनुपरेको अवस्था अवका दिनमा आउन नदिन आफूले पहल गर्ने समेत मन्त्री खनालले बताएका छन् । पशुपालनमा देखिएको जोखिमलाई अन्त्य गर्नका लागि सो क्षेत्रमा देखिएको अराजक गतिविधिहरुलाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत मन्त्री खनालले जनाएका छन् । तर के मन्त्रीले त्यस्तो अराजकतालाई रोक्ने प्रयास गर्लान त ?
समग्र पशुपालन तथा दूध उत्पादक किसानहरुले अहिलेसम्म घाटा व्यहोर्दै दूध उत्पादन गर्दै आईरहेको भएपनि सरकारले किसानका पक्षमा कुनै पनि कार्य गर्न नसकेको भन्दै समाजका अध्यक्ष आनन्द न्यूरे, सह कोषाध्यक्ष डिलाराम कँडेल लगायतका प्रतिनिधिहरुले विदेशबाट आयात हुने दूध पाउडर तथा दुग्धजन्य पदार्थहरु पूणर्् रुपमा बन्द गर्नुपर्ने, नेपाल सरकारले तोकेको कृषि वीमा मापदण्डलाई वीमा कम्पनीहरुले अपमान गरी क्षतिपूर्ति नदिने र न्यून मूल्यांकन गर्ने गरेकाले बीमा कार्यक्रमलाई व्यवस्थित गर्नु पर्ने लगायत १४ बुँदे मागपत्र समेत मन्त्रीलाई बुझाएका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५