शुक्रबार, चैत्र १६, २०८०

अलैंचीको मूल्य लगातार घट्दै

पाँचथर । पहाडको ‘कालो सुन’ भनेर परिचित अलैंचीको मूल्य नबढ्दा किसान निराश बनेका छन् । राम्रो मूल्य पर्खिदै बसेका किसानले गत वर्ष उत्पादन गरेको अलैंची अझै बिक्री गरेका छैनन् । राम्रो मूल्य कुर्दाकुर्दै नयाँ उत्पादनको सिजन सुरु भएकाले किसान अलैंचीको मूल्य नबढ्दा निराश बनेका हुन् ।

नेपालमा उत्पादनको हिसाबले महत्वपूर्ण मानिने प्रदेश १ का किसान मूल्यको मारमा परेको अलैंची कृषक बताउँछन् ।नेपालबाट निर्यात हुने प्रमुख कृषि उपजमा अलैंची पर्छ भने यहाँको मुख्य नगदेबालीको रुपमा समेत रहेको छ । केही दिन अलैंचीको मूल्यमा सुधार हुने संकेत देखिएको भनेर प्रचार गरिए पनि त्यस्तो हुन सकेन ।

नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालका अनुसार केही दिनअघि ३४ हजार प्रतिमन बिक्री भएको अलैंची पछिल्लो समय प्रतिमन २८ देखि ३१ हजार रुपैयाँमा बिक्री भएको छ ।

केही वर्षअघि अलैंचीको मूल्य प्रतिमन १ लाख २० हजारसम्म भएकोमा अघिल्लो सिजनको सुरुवातमा प्रतिमन ४४ हजार मूल्यमा झरेर अहिले स्वाट्टै गिरावट आएको हो । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालको १२ हजार पाँच सय आठ हेक्टरमा अलैंची उत्पादन भइरहेको छ भने ६ हजार पाँच सय २१ मेट्रिक टन अलैंची उत्पादन हुने तथ्यांक छ ।

अलैंची विकास आयोजना फिक्कलका प्रमुख पदम अधिकारीका अनुसार सबैभन्दा धेरै अलैंची ताप्लेजुङमा उत्पादन हुन्छ । यसैगरी संखुवासभा, पाँचथर र इलाममा धेरै अलैंची उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २१, २०७५