बिहिबार, बैशाख १३, २०८१

अलैंचीको मूल्यबाट किसान उत्साहित

Alaichi

झापा, १४ फागुन । विदेश निर्यात हुने नगदेबालीका रुपमा विकसति भएको र खोल्साको सुनको उपमा दिइएको अलैँचीको मूल्य यो पटक भने किसानहरुले राम्रै हात पार्न सफल भएका छन् ।

अस्थिर बजार मूल्यको मारमा परेका अलैँची किसान यसपटक राम्रो मूल्य पाएपछि हर्षित बनेका हुन् । यसअघि कहिल्यै नपाएको मूल्य यसवर्ष पाएपछि अलैँची किसान उत्साहित देखिन्छन् ।
किसानले बेच्ने समयमै अलैँचीको मूल्य प्रतिमन करिब रु ६५ हजार पुगेपछि यस वर्ष सबैभन्दा बढी मूल्य पाएको किसान बताउँछन् । विगतका वर्षमा भने उनीहरूले व्यापारीलाई बेचिसके पछि मात्र मूल्य बढ्ने गथ्र्याे ।
गत वर्ष अलैँचीको मूल्य प्रतिमन रु ७५ हजार पुगेको थियो । तर किसानले व्यापारीलाई बेचिसकेपछि मात्र मूल्य बढेको थियो । त्यो बेला किसानले प्रतिमन रु ४० हजार मात्रै पाएका थिए । त्यो मूल्य पनि अघिल्ला वर्षभन्दा उच्च नै थियो । तर यो वर्ष किसानले अलैँची बजारमा निकाल्ने समय साउनदेखि कात्तिकसम्म अलैँचीको मूल्य रु ६० हजारमाथि पुगेका कारण यसपटक अहिलेसम्मकै उच्च भाउ अलैँची किसानले पाए ।
किसान तथा व्यापारीसँग गत सालको अलैँची बेच्न बाँकी नरहेका कारण यस वर्ष मूल्य अझ बढ्न सक्ने व्यवसायीको अनुमान छ । नेपालमा १३ हजार हेक्टर जमिनमा लगाइएको यसको खेतीबाट वार्षिक १३ हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १४, २०७०