शुक्रबार, चैत्र १६, २०८०

अलैँचीका बिरुवाको मूल्य निर्धारण

लमजुङ, जेठ । लमजुङमा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिएका छन् ।

महासंघ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको जनाएको छ । जिल्लामा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ । गत वर्ष प्रतिबिरुवा रु नौ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १०, २०७५