बिहिबार, बैशाख १३, २०८१

अमरपुर र नागीबाट चार करोडको गोलभेडा बिक्री

फिदिम, साउन २६ । यसपटक पाँचथरको गोलभेडा पकेट क्षेत्र तोकिएका अमरपुर र नागीबाट चार महिनामा चार करोड रुपियाँभन्दा बढीको गोलभेडा बिक्री भएको छ । tomatoo
वैशाखमा रोपी उत्पादन गरेर साउनभित्र बिक्री गरिसक्ने गोलभेडाले यस वर्ष किसानले चार करोड २९ लाख ७५ हजार रुपियाँ आम्दानी गरेका हुन् ।
याङ्वरक गाउँपालिका–६ मा पर्ने नागी र हिलिहाङ गाउँपालिका–१ को अमरपुरका किसानले गोलभेडा बेचेर गत वर्षको तुलनामा दोब्बर आम्दानी गरेका हुन् । यसपालि अभियानका रूपमा बृहत् क्षेत्रफलमा नागीका ५८० घरले प्रतिघर एक हजार आठ सय र अमरपुरका ४५० घरले प्रतिघर एक हजार पाँच सय बोट गोलभेडा रोपेका थिए ।
यही हिसाबले किसानले दुई गाउँमा सत्र लाख १९ हजार बोट गोलभेडा रोपेकामा प्रतिबोटमा न्यूनतम दुई किलो फलेको किसान वीरेन्द्र काफ्लेले बताए । यस हिसाबमा ३४ लाख ३८ हजार किलो गोलभेडा फलेको र सरदर प्रतिकिलो २५ रुपियाँमा बिक्दा किसानले आफ्नो गाउँमा यतिका आम्दानी भिœयाउन सफल भएका हुन् ।
पर्याप्त वर्षा हुनाले यसपालि गोलभेडा उत्पादनमा वृद्धि भएको बताइएको छ । मूल्य पनि वृद्धि हुनाले आफूहरूले राम्रो आम्दानी गरेको अमरपुरका किसान प्रेमकुमार सिग्देलले बताए ।
यस क्षेत्रमा गतवर्ष १२ लाख किलोसम्म मात्र गोलभेडा फलेको र प्रतिकिलो १८ रुपियाँमा बिक्दा दुई करोड रुपियाँ मात्र आम्दानी भएको जनाइएको छ । यसपालि आफूहरूले प्रतिकिलो १८ देखि ४० रुपियाँसम्ममा गोलभेडा बेचेको नागीका देवीप्रसाद सिग्देलले बताए। पोहोरभन्दा यो साल दोब्बर बढी २६ क्विन्टल गोलभेडा फलाएर बेच्दा दोब्बर नै बढी ६५ हजार रुपियाँ आम्दानी भएको उनले सुनाए । उत्पादित गोलभेडा किसानले नागी अमरपुरका ठाउँठाउँमा खुलेका तरकारी तथा फलफूल सङ्कलन केन्द्रमा लगेर बेच्ने गरेका छन् ।
यहाँका किसानले टनेलका साथै खुल्ला ठाउँमा गोलभेडा खेती गर्ने गरेका छन् । किसानलाई आर्थिकका साथै प्राविधिक रूपमा सहयोग गरेर गोलभेडा खेतीमा प्रोत्साहित गरिरहेको पाँचथरका वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले जानकारी दिए।
नागी अमरपुरमा उत्पादित गोलभेडा व्यापारीले विर्तामोड, नारायणघाट, काठमाडौं र भारतमा समेत लगेर बेच्ने गरेका छन् । विगत सात वर्ष अघिदेखि व्यावसायिक रूपमा नागी अमरपुरमा गोलभेडा खेती भइरहेको हो । यहाँको गाउँ बस्तीको अर्थतन्त्र गोलभेडाकै आम्दानीले उकालो चढीरहेको पनि पाइएको छ । नारायण तुम्बापो

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७४