बिहिबार, बैशाख १३, २०८१

अन्तर्राष्ट्रियकरण भयो रोपाइँ महोत्सव

कास्की, असार  । आज असार पन्ध्र दही चिउरा खाने र हिलोमा पस्ने दिन । कम्तीमा पनि यो एक दिन हिलोमा टेक्नुपर्छ भन्ने नेपाली परम्परा छ । यही परम्परालाई व्यावसायिक रूप दिँदै पर्यटकीय नगरी पोखरामा बर्सेनि असार १५ को दिन रोपाइँ महोत्सव आयोजना गरिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को आयोजनामा एक दशकदेखि यो महोत्सव हुँदै आएको छ । यस वर्ष पनि बिहीबार १४औैँ असारे रोपाइँ महोत्सव हुँदैछ ।
नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने चटारो भइरहँदा विदेशी पर्यटक भने हिलोमा रमाउन सात सुमद्र पार गरेर यहाँ आउने गरेका छन् । यस वर्षको रोपाइँ महोत्सवमा करिब पाँच सय विदेशी पर्यटक सहभागी हुने अनुमान पोखरा पर्यटन परिषद्को छ । यो महोत्सवमा सहभागी हुनकै लागि अघिल्ला वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको परिषद्ले जनाएको छ ।
बाह्य पर्यटकलाई पोखरा ल्याउने विभिन्न सङ्घसंस्था, राजदूतावाससँग समन्वय गरिएको परिषद्का भरतराज पराजुलीले बताए। पछिल्लो समय अधिकांश युवा पुस्ताले कृषि प्रणालीमा चासो घटाउँदै गएका र उनीहरूलाई कृषि र धानखेतीको महìवबारे जानकारी गराउन असारे रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । पोखरा र यसको वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य होे, यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको छ, पराजुलीले बताए ।
यस पटकको महोत्सव पोखरा–१६ स्थित ठूलीबेसी फाँटमा आयोजना गरिएको छ । आयोजक पोखरा पर्यटन परिषद्ले स्थानीय गोविन्दबहादुर खड्काको आठ रोपनी खेतमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।
पोखरामा आयोजना हुने रोपाइँ महोत्सव अन्तर्राष्ट्रियकरण भइसकेको जानकारी दिँदै महोत्सवकै लागि विभिन्न देशबाट पर्यटक आएको परिषद्ले जनाएको छ । परिषद्ले महोत्सवमा ३० हजार आन्तरिक पर्यटकको सहभागिता हुने दाबी आयोजकको छ । महोत्सवका लागि भनेर काठमाडौँ, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, नेपाली र विदेशीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीबीच रस्साकस्सी प्रतियोगिता, पत्रकारको हिले दौडलगायतका प्रतियोगितात्मक कार्यक्रमसहित कृषकलाई सम्मान र विविध सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले रोपाइँ महोत्सवले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । उनले महोत्सवले कृषि उत्पादनमा वृद्धि भएको र कुल गार्हस्थ्य उत्पादन बढाउन महìवपूर्ण सहयोग गरेको दाबीसमेत गरे ।
महोत्समा स्थानीय एवं कास्की जिल्लामा उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने कार्यक्रम छ ।  महोत्सव सम्पन्न गर्न १४ लाख ५० हजार रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । व्यवस्थापनका लागि नेपाल पर्यटन बोर्ड, जिल्ला कृषि विकास कार्यालय, पोखरा लेखनाथ महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घलगायत विभिन्न सङ्घसंस्था एवं व्यावसायिक प्रतिष्ठान रहेका छन् ।
सरकारले पछिल्लो केही वर्षयता असार १५ गतेका दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति: बिहिबार, असार १५, २०७४