शनिबार, बैशाख ८, २०८१

अनुदानको नीति होइन वितरण प्रणाली खराव छ

khojraj katwal
खोजराज कट्वाल
प्रवन्ध निर्देशक नेपाल थोंपा सिंचाई प्रा.लि.

० सरकार यतिखेर नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरण र आधुनिकीकरण गर्ने अभियानमा लागेको छ के लाग्छ ?
सवैभन्दा पहिले त नेपालमा कृषि गरेर बाँच्न सकिन्छ भन्ने कुनै पनि आधार नदेखेर म आफै पनि विदेश बसेर फर्केको व्यक्ति हुं । विदेश बस्दा मैले कृषिमा नै काम गरे । र आफ्नै देश फर्केर कृषिमा काम गर्दछु भन्ने सोच थियो र आफैले खेती शुरु पनि गरें । मैले विदेशमा सिकेको प्रविधि नेपालमा विस्तार गर्ने कार्य गर्दै पनि आईरहेको छु । प्रविधिलाई विस्तार गर्न सकियो भने नेपालको कृषि क्षेत्रमा पनि सरकारले अभियान चाले जस्तै व्यवसायिकरण र आधुनिकीकरण सम्भव छ भन्ने लाग्छ ।
० आधुनिकीकरणले व्यवसायिक हुने कुरा गर्नु भो त्यसो भए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि आएको छ, त्यसले व्यवसायिकरण हुन्छ ?
नेपालको कृषि क्षेत्रमा केही पनि नभईरहेको बेलामा सरकारले यस्ता आयोजना सञ्चालन गर्नु राम्रो कुरा हो । यसको व्यवस्थापन राम्रो भयो भने चाहिं नेपालको कृषिलाई यान्त्रिकीकरण गरेर कोशे ढुङ्गा सावित गराउन सकिन्छ । तर नेपालमा धेरै अप्ठेराहरु पनि छन् । नेपालका लागि चाहिने जति पनि औजारहरु छन् सवै विदेशबाट आयात गर्नु पर्ने छ । यतिसम्म की अवौंको खाद्यान्न समेत आयात गर्नु पर्ने अवस्थामा कृषिका लागि आवश्यक पूर्वाधार आयात गर्नु पर्ने भएकाले चुनौति भने धेरै नै छ । यतिधेरै पैसा खर्च गरिरहंदा पनि हामीले साना साना उद्योग सञ्चालन गराउन तर्फ लागेनौं । किसानकै स्तरमा साना साना उद्योग खोल्न तर्फ ध्यान दियो भने यस्ता आयोजनाले दीर्घकालिन हुन्छ । सवै सामग्री बाहिरबाट ल्याउने हो भने यसले केही परिवर्तन हुद्रैन ।
० के बुझ्नु भयो यो आयोजनाका बारेमा ?
मैले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका बारेमा केही ठाउंमा अध्ययन पनि गरेको छु । आयोजनाका कार्यक्रम हेर्ने हो भने यसले उद्योग खोल्नेदेखि लिएर उत्पादनबृद्धि गर्ने सम्मका कार्यक्रम अगाडि सारेको देखिन्छ । अहिलेसम्मका कृषिका आयोजना हेर्ने हो भने त्यस्तो देखिएको पनि थिएन । उत्पादन बृद्धि, पोष्ट हार्भेष्टको काम देखि उद्योगसम्मकै कार्यक्रम भएका कारण राम्रैसंग जाला भन्ने मैले अनुभव गरेको छु ।
० तर सरकारले कृषि उत्पादन बृद्धि गराउनका लागि आश्वासन बांडे जस्तै प्रविधि विस्तार प्रयास गरेको छ त ?
प्रविधि विस्तारको कुरा मात्र गरेर भएन । कस्ता खालका प्रविधि विस्तार गर्दा किसानहरुले उत्पादन बृद्धि गर्न सक्छन् भन्ने कुरा हो । प्रविधिका नाममा जे मन लाग्यो त्यही गर्ने परिपाटी मैले देखेको छु । हिजोको व्यक्तिले कोदालीले खेत जोत्नु र पछि गोरुले जोत्नुलाई प्रविधि विस्तार भन्ने कि अव जोतिने ट्रयाक्टरलाई भन्ने यो कुरा स्पष्ट हुनु जरुरी छ ।
० अहिले इजरयाली प्रविधि निकै चर्चामा छ । जसले पनि इजरायली प्रविधि भन्ने गरेका छन् । तपाईहरु इजरायलमा नै सिकेर आउनु भएका व्यक्तिले चाहि के भन्नु हुन्छ ।
यो इजरायल प्रविधि भनेको इजरायलमा आविष्कार भएको थोंपा सिंचाई प्रविधि हो । जुन थोरै पानीले धेरै भन्दा धेरै जमीनमा सिंचाई गर्न सकिने प्रविधि हो । हामी धेरै साथीहरुले इजरायलमा सिकेको प्रविधिलाई कृषिमा प्रयोग गर्न थालेका कारण पनि यो इजरायल प्रविधिको चर्चा मुलुकभरी नै देखिन्छ । यसमा गैरसरकारी संस्था, सरकारी संस्थाहरुले पनि चासो देखाएका छन् । तर यसको व्यवस्थापन भने राम्रो संग हुन सकिरहेको छैन ।
० त्यसको मलतव धेरै चर्चामा छ व्यवस्थापन गर्न सकिएन भने भविष्यमा त यो प्रविधि पनि संकटमा आउने भने नि त ?
सकारात्मक र नकारात्मक दुवै कुरा आउछन् । त्यो कुरा किसानले छुट्याउने कुरा हो । किसानहरुलाई यो प्रविधिले फाइदा भएको छ भने धेरै प्रयोगमा आउंछ र किसानहरुले यही प्रविधिलाई छनौट गर्ने गर्दछन् । किसानलाई यो प्रविधिले घाटा पु¥याउंछ भने अगाडि जांदैन । तर हाम्रो आजसम्मको अनुभवले यो प्रविधि प्रयोग गर्ने किसानहरुले समस्या अहिलेसम्म देखाउनु भएको छैन । यो अत्यन्तै सजिलो प्रविधिमात्र होइन यसले कृषि उत्पादन बृद्धि गराएको पनि छ । तर किसानलाई घाटा पु¥याएको थाहा छ्रैन ।
० त्यसो भए नेपाली कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि समस्या कहाँ छ त ?
नेपालका कृषिमा आधुनिकीरकण गर्ने नाममा अनुदान वितरण गर्दा किसानमुखि हुन नसकेकै कारण समस्या आएको छ । अहिले कै किसिमले अनुदान वितरण प्रणाली गरिरहने भने भने जति खर्च गरिएपनि उत्पादन बृद्धि हुने देखिंदैन । उत्पादन बृद्धि गर्नका लागि किसानका लागि प्रभावकारी हुने प्रविधि छनौट गरेर कुन प्रविधि प्रयोग गर्दा किसानलाई फाइदा हुन्छ दोब्वर तेब्वर उत्पादन गर्न सकिन्छ भन्ने विषयमा खुल्ला बहश गर्नु पर्ने देखिन्छ । तर नेपालमा किसानलाई आवश्यक एउटा बस्तु छ किसानलाई उपलब्ध गराउने बस्तु अर्को भईरहेको छले पनि समस्या आईरहेको छ ।
० यसको मतलव राज्यले दिएको अनुदान नीति नै खराव छ ?
अनुदानको नीति नै खराव होइन । अनुदान वितरण प्रणाली अत्यन्तै खराव छ । यो प्रणालीको अनुदानले नेपाली कृषि क्षेत्रमा परिवर्तन ल्याउन सक्दैन ।
० धेरै व्यवसायीहरुले सरकारले दिने अनुदान बन्द गर्नु पर्दछ भनिरहेका छन् तपाई चाहिं के भन्नु हुन्छ ?
यसका लागि खुल्ला बहश गर्ने हिम्मत गर्नु आवश्यक छ । यो भनाई एक किसिमले हेर्ने हो भने ठिक पनि छ । जुन ठूला ठूला परियोजनाहरु किसानहरुले लगानी गर्न सक्दैनन् त्यस्ता ठाउमा सरकारले लगानी गर्नु पर्दछ । पचास सय रुपैयांको दुइ पाकेट बीउ, एउटा कैची, एउटा स्पेयर दिएर खासै उपलब्धी हुंदैन ।
० इजरायलमा काम गरेर फर्केका तपाई जस्ता धेरै व्यक्तिहरु थोंपा सिंचाईमै केन्द्रित हुनु हुन्छ ? किसानहरुको आकर्षण चाहिं कति छ ?
किसानहरुको आकर्षण नभईदिएको भए हामीले शुरुवात गरेको यो व्यवसाय बन्द गरेर फेरि विदेश नै पलायन भईसक्थ्यौं । एउटा किसानले थोंपा सिचाईका माध्यमबाट गरेको फाइदा, उत्पादनमा भएको बृद्धि गरेको देखेर नै अर्को किसानहरुले थोंपा सिंचाई प्रविधि प्रयोग गरेको हामीले पाएका छौं । तर राज्यले थोपा सिंचाईका लागि खासै न त लगानी गरेको छ न त अनुदानको व्यवस्था नै गरेको छ । तर किसानहरुको आकर्षण अत्यधिक बढ्दै गईरहेको छ ।
० राज्यले थोपा सिंचाई प्रविधिको विस्तार गर्ने कुरामा चासो दिएको छैन भन्न खोज्नु भएको हो ?
त्यसो भन्दा फरक पर्दैन । तर अहिले आएर जिल्ला जिल्लामा किसानहरुले यो प्रविधिको माग गर्न थालेपनि कृषि विकास कार्यक्रमहरुले आफ्नो कार्यक्रममा राख्न थालेका छन्।  – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, फाल्गुन ७, २०७३