बिहिबार, बैशाख १३, २०८१

अज्ञात रोगबाट पशुचौपाया मरे

म्याग्दी, २७ पुस । म्याग्दीको रायखोरमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन् । विगत एक सातायता अज्ञात रोगका कारण दुई वटा भैँसी, तीन वटा पाडा, एउटा राँगो, एउटा गोरु र एउटा गाई मरेको स्थानीय लालकुमारी शेरपुजाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बमबहादुर पुर्जा, पदमबहादुर शेरपुजा, नरबहादुर शेरपुजा, टेकबहादुर शेरपुजा, चनमायाँ शेरपुजा, काला शेरपुजाको पशुचौपाया मरेका हुन् । पशुचौपाया एक्कासि बिरामी हुने, उफ्रने, पेट सुन्निनेलगायतका लक्षण देखिएको स्थानीय पुष्पा शेरपुजाले बताउनुभयो । रोग पहिचान नहुने र अन्य पशुचौपायामा समेत लक्षण देखिन थालेपछि स्थानीयवासी चिन्तित बनेका उहाँले बताउनुभयो । यता जिल्ला पशुसेवा कार्यालयले भने उक्त रोगका बारेमा आफूहरूलाई कृषकले जानकारी नगराएको बताएको छ । अहिलेसम्म कार्यालयमा कुनै जानकारी नआएको भन्दै कार्यालयका पशु चिकित्सक जीवन आचार्यले छिट्टै त्यसतर्फ पशु प्राविधिकको टोली पुगेर रोगको पहिचान गरी आवश्यक उपचार अगाडि बढाउने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०७०