शुक्रबार, चैत्र १६, २०८०

अखाद्य रङ र हानिकारक रसायन मिसाइएका मिठाई बिक्रीमा

कञ्चनपुर, २८ चैत । कञ्चनपुर र कैलालीका होटलमा अखाद्य पदार्थ मिसाइएका मिठाई बिक्री वितरण हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको मेची महाकाली खाद्य स्वच्छता अभियानअन्तर्गत कैलाली र कञ्चनपुरमा गरेको अनुगमनका क्रममा आधा दर्जन बढी मिठाई पसलमा अखाद्य रङको प्रयोग गरिएको र हाइड्रो नामक रसायनको प्रयोग गरी मिठाई बनाइएको पाएको हो । अखाद्य पदार्थ मिश्रण गरी बनाइएका मिठाईको प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले मिठाई नियन्त्रणमा लिई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताउनुभयो । त्यस्ता मिठाईको प्रयोगले दीर्घकालीन क्यान्सर, मुटु र छालासम्बन्धी रोग लाग्ने गरेको उनले उल्लेख गरे । अनुगमन गरिएका कैलालीका १३ होटेलमध्ये पाँच र कञ्चनपुरका अनुगमन गरिएका आठमध्ये दुई होटेलमा रसाइनको प्रयोग गरिएको र अखाद्य रङ प्रयोग गरी बनाइएका मिठाई फेला परेको अधिकृत सुवेदीले  बताए ।
“अनुगमन गरिएका अधिकांश होटेलका भान्सा कोठा, मिठाई राख्ने भाँडा र ठाउँसमेत फोहरयुक्त देखिएकाले तत्कालका लागि सरसफाइमा ध्यान दिन होटेल सञ्चालकलाई सचेत पारेका छौँ” उनले भने । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेका बरुण र गुड्डु स्विट हाउसमा अखाद्य रङ र रसाइन मिसाइएका मिठार्ई फेला परेकाले तीन दिनका लागि मिठार्र्ई उत्पादनमा रोक लगाई तीन दिनभित्र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा उपस्थित हुन भनिएको उनले भने, “तीन दिनभित्र होटलमा सरसफाइ र केमिकल युक्त मिठार्र्ई हटाए नहटाएको बारे अनुगमन गरी मात्र मिठार्र्ई उत्पादन गर्न दिइने छ ।” अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामा, क्षेत्रीय कार्यालयका प्रमुख सञ्जीवकुमार कर्णलगायतको उपस्थिति रहेको थियो । यसैबीच, कैलालीको चिसापानीमा रहेका होटलको आजदेखि स्तरीकरणको कार्य सुरु गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २८, २०७०