बिहिबार, चैत्र १५, २०८०

५० प्रतिशतले बढ्यो कृषि बिमा

काठमाडौं, १० मंसिर ।  कृषि बिमा ५० प्रतिशतले बढेको छ । पछिल्लो समय कृषि बिमातर्फ कृषक आकर्षित भएपछि बिमा बढेको हो । बिमा समितिका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब रुपैयाँभन्दा बढीको कृषि बिमा भएको छ । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा २०७३/७४ मा ५० प्रतिशतले कृषि बिमा बढेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ६ अर्ब रुपैयाँभन्दा बढी कृषि बिमा भएको थियो ।bima

समितिका अनुसार बाली बिमा ८२ प्रतिशतले बढेको छ भने पशुपक्षी बिमा ४८ प्रतिशतले बढेको छ । त्यसैगरी १७ वटा निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमाका लागि २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको समितिले जनाएको छ ।

बिमा कम्पनीले आक्रमक तरिकाले कृषि बिमा गरिरहेकाले कृषि बिमामा उल्लेख्य प्रगति भएको समितिले जनाएको छ । समितिले बिमा क्षेत्रको दायरा फराकिलो बनाउने उद्देश्यले उत्पादनमूलक बाली तरकारी तथा मसलाजन्य उत्पादन अदुवाको बिमालेख पनि जारी गरिसकेको छ ।

समितिले जिल्लाजिल्लामा राम्रो प्रचारप्रसार गरिरहेकाले बिमा सम्बन्धी फाइदाका विषयमा प्रशस्त जानकारी पाएपछि कृषकहरू आषर्षित हुँदा कृषि बिमा प्रभावकारी बन्दै गइरहेको समितिका निर्देशक राजुरमण पौडलले बताए । उनले भने, ‘अहिले बिमा गर्ने बढेका छन्, कृषि बिमा प्रभावकारी बन्दै गइरहेको छ ।’ कृषिलाई प्रोत्साहन गर्न बिमा कम्पनीहरूले जिल्लाजिल्लामा कृषि बिमाको कारोबार गर्न शाखा र एजेन्ट यसअघि नै सुरु गरिसकेका छन् ।

बिमा गराउने शाखा तथा एजेन्टहरूको पहँुच गाउँगाउँमा भएकाले कृषि बिमा प्रभावकारी बन्दै गइरहेको निर्देशक पौडेलको भनाइ छ । ५ वर्षअघि सुरु भएको कृषि बिमा कार्यक्रमले छोटो समयमा निकै प्रभावकारी रूपमा अगाडि बढेको निर्देशक पौडेलले बताए ।

बिमा कम्पनीको नियामक निकाय बिमा समितिले कृषिको कारोबार गर्ने शाखा खोलेर अनिवार्य रूपमा कृषि बिमा गराउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएपछि बिमा कम्पनीले कृषि बिमामा तीव्र गतिले अगाडि बढेका हुन् ।

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४