बिहिबार, बैशाख १३, २०८१

हावाहुरीबाट ५० करोड क्षति भएको मन्त्रालयको निष्कर्ष

काठमाडौं, चैत्र । बारा र पर्सामा गत हप्ता आएको हावाहुरीका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ५० करोड भन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निष्कर्ष निकालेको छ ।
हावाहुरी आएको केही दिनपछि मन्त्रालयले अर्जुन बरालको संयाजकत्वमा पाँच सदस्यीय टोली स्थलगत अध्ययनका लागि खटाएको थियो । सो टोलीले गरेको अध्ययनमा ५० करोड, ७९ लाख, ३२ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
हावाहुरीबाट बारा र पर्साका दुई जिल्लाका १० नगरपालिका र गाउँपालिकाका २२ वडाका किसानहरु अति प्रभावित भएका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बारा र पर्साका ४ हजार ५ सय २२ हेक्टरमा लगाइएको गहुँ, मकै, दाल, तरकारी, आँप नष्ट भएको छ । त्यस मध्ये १ हजार ४ सय ३५ हेक्टरका बाली पूर्ण रुपमा र ३ हजार १ सय १६ हेक्टरको बाली आंशिक रुपमा क्षति भएको विवरणमा उल्लेख गरिएको छ ।
हावाहुरीका कारण ११४ बाख्रा र खसी, १४ गाईर ३० भैसी, १० हजार कुखुरा र ३ सय २६ हाँस मरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५