शुक्रबार, चैत्र १६, २०८०

हाइड्रोफोनिकका नाममा व्यापारीको लुट

काठमाडौं, २५मंसिर । कृषिमा आधुनिकीकरण गर्ने नाममा र प्रविधि भित्र्याउने नाममा दिनप्रतिदिन किसान ठगिने क्रम जारी छ । तालुकदार कृषि विकास मन्त्रालय एवं मातहतका निकायले ध्यान नदिंदा किसानहरु ठगिने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा परम्परागत कृषि व्यवसायबाट व्यवसायिक कृषि गरिरहेका किसानहरु प्रविधिका नाम ठगिंदै गईरहेका हुन् ।
केही बर्ष पहिलेदेखि इजरायली प्रविधिका नाममा थोंपा सिंचाई प्रविधिमा किसान ठगिंदै आएका थिए । जुन अहिले पनि निरन्तर नै छ । थोंपा सिंचाई प्रविधिसँगै पछिल्लो समयमा हाइड्रोफोनिकका नाममा किसानहरु ठगिन थालेका छन् ।
विशेष गरी शहरी क्षेत्रका बासिन्दालाई लक्षित गरि हाईड्रोफिनिक प्रविधिमा ब्रम्हलुट मच्चाउनका लागि केही कम्पनीहरु सक्रिय रहेका छन् । प्रविधि विक्री नाममा भारत तथा चीनबाट ल्याइएका प्लाष्टिक पाईपहरुको प्रयोग गरी लाखौं रुपैयाँ असुल्न थालिएको भेटिएको छ ।
घरमा नै सजिलै तरकारी उत्पादन गरी स्वच्छ तरकारी उपभोग गर्ने नाममा काठमाडौंमा यतिखेर हाइड्रोफोनिक प्रविधिमा लुटतन्त्र नै मच्चिईरहेको छ । जवकी साधारण किमिसले बनाइएका त्यस्ता प्रविधि केही हजारमा निर्माण हुने भएको भएपनि व्यापारीहरुले लाखौं रुपैयाँ असुल्दै आईरहेका छन् ।
कृषि विकास मन्त्रालय, कृषि विभाग मातहतमा रहेको केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र खुमलटारमा पनि आफ्नै किसिमले यस्तो प्रविधिको प्रयोग गरिएको पाइन्छ । तर सो प्रविधि प्रयोगमा अहिले बजारमा व्यापारीहरुले भने जस्तो चर्को मूल्य पर्ने अवस्था देखिएको छैन ।
प्रविधिको विस्तार गर्दै उत्पादन लागत घटाउनु पर्ने अहिलको आवश्यकता हो । तर प्रविधि भित्र्याउने नाममा केही व्यापारीहरुलाई कृषि विकास मन्त्रालयले लुट मच्चाउन दिन मिल्छ ? होइन भने अहिले हाइड्रोफोनिक प्रविधि प्रयोग गर्ने नाममा किसानहरु ठगिंदा पनि कृषि विकास मन्त्रालय किन मौन बसिरहेको छ ।
के हो यो प्रविधि ?
बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ हो । खेती योग्य भूमि नभएका सम्पन्न मुलुकमा यो प्रविधि धेरै पहिलादेखि प्रयोगमा आएको भएपनि नेपालको यो प्रविधि नयाँ हो । करेसाबारी नहुनेले छतमा लगाएर पनि तरकारी उत्पादन गर्न सकिन्छ ।”
करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ तीन–तीन वटा पिभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पु¥याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने बनाइएको हुन्छ ।
यही चक्रिय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानीबाट सिँचाइ गरिन्छ । बिरुवा छोटो समयमा वृद्धि हुन्छ । माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने दाबी पनि गरिएको छ । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने बताइएको छ । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने भन्दै व्यापारीहरुले चर्को मूल्यमा यो प्रविधिमा लागि कृषि सामग्री विक्री गर्न थालेका छन् । थोरै जमिन हुने तर करेसाबारी नहुनेका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने भएकाले यो प्रविधिका बारेमा जानकार नभएका कारण ठगि बढ्न थालेको तरकारी विकास निर्देशनालयका एक उपसचिवले बताए । माथि उल्लेखित आकार प्रकारमा रहेको यो प्रविधि प्रयोग रु १० हजारदेखि रु १२ हजारको लगानीमा तयार हुने भएपनि अहिले केही व्यापारीले चर्को मूल्य असुल्दै आईरहेका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर २५, २०७४