शुक्रबार, बैशाख ७, २०८१

हाइड्रोपोनिक प्रविधि प्रयोग गर्नु अघि एकपटक सोच्नुस

काठमाडौं, असार । पछिल्लो समयमा कृषि उत्पादनका नाममा विभिन्न प्रविधिहरु नेपालमा भित्रिएका छन् । ती प्रविधि भित्रिएसँग कतिपयले व्यवसायिक रुपमा लिएको भनिन्छ भने कतिपय व्यवसायिक किसानहरु पलायन हुनु पर्ने अवस्था पनि देखिएको प्रविधिका नाममा व्यापारी मोटाउने काम भईरहेको छ । राज्यले त्यसलाई नियन्त्रण गर्न सकेको छैन । भने अहिले कौशी तरकारी खेतीका नाममा पनि विकृति देखिएको छ । यसै सन्दर्भमा तरकारी वाली विकास केन्द्रका प्रमुख अरुण काफ्लेसँग गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

० पछिल्लो समयमा कौशी तरकारी खेती लहर चलेको छ कति उचित छ ?
शहरी क्षेत्रमा र महानगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कौशी तरकारी खेतीको अभ्यास गरेको देखिन्छ । जुन भान्छाबाट निस्कने फोहोर व्यवस्था नै प्रमुख कारण हो । काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने ४० लाख मानिस बसोबास गर्नु हुन्छ । उहाँहरुलाई दैनिक साँढे दुईसय देखि ३ सय मेट्रिक टन तरकारी आवश्यक पर्दछ । अहिले बजारमा पाइने तरकारीका अत्यधिक विषादी भयो स्वच्छ तरकारी घरमै उत्पादन गरौं भन्ने किसिमले र शहरी क्षेत्रमा फोहोर व्यवस्थापन समेत हुने भएकाले यो लहर चलेको हो ।
० त्यसो भए अव कौशी तरकारी खेती गरेर उपभोक्ताहरुले स्वच्छ तरकारी खान पाउँछन् भन्ने मात्र हो त ?
एक किसिमले त्यो पनि हो । बजारमा आउने तरकारी स्वच्छ नभएकै कारण उपभोक्ताहरुले आफ्नो घरका छतमा आफूलाई आवश्यक तरकारी फलाउने काम पनि गर्दै आईरहेका छन् । जसले स्वच्छ तरकारी उपभोग गर्नका लागि महत्वपूर्ण हुन्छ भने कुहिने फोहोरलाई व्यवस्थापन गर्नका लागि अहिले देखिएको चुनौतीमा थोरै भएपनि न्यूनिकरण हुन्छ ।
० कौशी तरकारी खेतीको कुरा गर्दा प्रविधिका कुरा पनि आउँला नि ?
अधिकांश काठमाडौंका घरधनीहरु वा शहरमा बसोबास गर्ने व्यक्तिहरुले आफ्नो घर कौशीमा तरकारी खेती गर्ने रहर पनि चलेको छ । थोरै ठाउँको सदुपयोग पनि हुने त्यसले हरियालीका लागि पनि काम लाग्ने भएकाले हो । अहिले आएका नयाँ प्रविधिलाई सदुपयोग गर्न सकिन्छ तर अहिले बजारमा आएका प्रविधि रकमका हिसावले अत्यन्तै महंगो देखिन्छ । कौशी तरकारी खेती गर्ने व्यक्तिले त्यत्ति धेरै महंगो प्रविधि प्रयोग गर्ने कि गर्ने भन्ने कुरा पनि छ ।
० तर हाम्रा घरहरुको भौतिक संरचनाका हिसावले त जोखिम होला नि ?
हो, तर अहिले परिवर्तन देखिएको छ । विगतमा हामीले कौशीमा माटोको प्रयोग गरी गर्ने खेती विस्तारै कमी हुँदै आएको छ । हामी भूकम्पको जोखिम छौं । त्यसकारण पनि कौशीमा बढी भार नहुने किसिमले खेत जाने सामग्रीहरुको प्रयोग गर्न सक्छौं । अहिले विकल्पका रुपका कोकोपिट लगायतका सामग्री पनि आएका छन् तर यसलाई आफू अनुकूल छ कि छैन हाम्रा कौशीले कति भार थाम्न सक्छन् त्यसका आधारमा प्रयोग गर्न सकिन्छ । कौशी खेती भनेर कौशीमा मात्र गरिने भन्ने कुरा बुझ्न भएन । बरण्डा हुन सक्छ कम्पाण्डमा थोरै जमिन पनि हुन सक्छ, किचेन गार्डेन हुन सक्छ । लहरे तरकारी लगाउने हो भने काँक्रा, घिरौला, फर्सी लगाउने हो भने कम्पाउण्डका वालमा पनि लगाउन सकिन्छ । आफ्नो स्थान अनुकूल भौतिक संरचना अनुरुप तरकारी खेती गर्न सकिन्छ । त्यसका लागि घरधनीले आफ्नो घरको भौतिक संरचनाको अवस्थामा पनि विचार गर्नु पर्ने हुन्छ ।
० अहिले बजारमा धेर्र प्रविधि पनि आएका छन् । तर कुन प्रविधि उपयुक्त होला भन्ने अन्यौल त छ नि ?
हो त्यसका लागि हामीले खुलमटारमा रहेको तरकारी बाली विकास केन्द्रमा नयाँ प्रयोग गरेका छौं कौशी तरकारी खेतीका लागि हुने प्रविधिमा । यसमा दुईतीनवटा कुराले प्रभाव पार्दछ । कौशी खेती गर्ने व्यक्तिले कति खर्च गर्न सक्नु हुन्छ भन्ने हो । उहाको आवश्यकता के हो । सागपात मात्र लगाउने हो कि काँक्रा घिरौला वा गोलभेँडा उत्पादन गर्ने हो । सागपातका लागि हो भने साना खालका संरचनाले उत्पादन गर्न सकिन्छ । तर लामो समयसम्म का लागि हो भने महंगो पर्दछ । मूल्य चर्को हुन सक्छ । अहिले हामीले गर्न खोजेको तरकारी खेती भनेको फोहोर व्यवस्थापन नै हो । व्यवसायिक हुन सक्दैन । अहिले हजार अनेक थरीका प्रविधि आईरहेको छन् । हाइड्रोपोनिक्स, एरोपोनिक्स जस्ता प्रविधि पनि आएका छन् तर यी प्रविधिमा जानु भन्दा अगाडि निकै नै सोच्नु आवश्यक छ । यो प्रविधिमा जान निकै नै गाह्रो छ । कृषि भनेको प्रविधिमा आधारित प्रविधि नै नजानिकन व्यवसायीहरुले भनेकै आधारमा हामीले प्रयोग गर्न थाल्यौ भने भविष्यमा त्यसले नकारात्मक सन्देश जान्छ । त्यसकारण यस्ता प्रविधि विक्री गर्ने व्यवसायीहरुले पनि सत्य तथ्यमा आधारित हुनु पर्दछ । अहिले त्यसो भएको पाइँदैन । अनि कौशी तरकारी खेती गर्न उत्साहित हुनु भएका व्यक्तिले पनि वास्तविकता बुझ्ने प्रयास गरेको पाइँदैन ।
० कृषि विज्ञान हो भन्ने कुरा बुझाउन नसकेका कारण अस्तव्यस्त भएका हुन् भन्यो भने के हुन्छ ?
हामीले साधारण तरीकाले बुझ्ने हो भने सिमी, काउली, बन्दा, रायो लगाउने भनिन्छ । तर सवै काउली, सवै रायो सवै सिजनमा उत्पादन हुँदैन । त्यो बुझ्नु प¥यो । अहिले शहरमा आएका हाइड्रोपोनिक लगायतका प्रविधि प्रयोगहरु गर्नका लागि सम्भावना कम देखिन्छ । यी प्रविधिहरु अत्यन्तै महंगो पनि पर्दछ । होइन महंगो भएपनि म प्रयोग गर्छु भन्ने हो भने समस्या छैन । तर त्यही कारण प्रविधिमाथि नै नकारात्मक सन्देश नजाओस् भन्ने हो । त्यसका लागि खुमलटारमा भएको प्रयोग हेरेर अन्य जानकारी लिन पनि सकिन्छ । त्यसका लागि हामी अनुरोध पनि गर्दछौं । प्रस्तुति : वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७६