बिहिबार, बैशाख १३, २०८१

सुन्तलाका फल कुहाउने औंसा

एक गाउँ एक उत्पादन कार्यक्रम सँगै रामेछाप सिन्धुली क्षेत्रमा जुनारको प्रबर्ध्दन भैरहेको छ । साथै चीन सरकारसँग त्यस क्षेत्रको जुनार आयात गर्ने सम्बन्धि सम्झौता समेत भए पछि किसानहरू बिच हौसला बढनु स्वाभाविक नै हो । सम्झौताको एउटा प्रावधान जुनारको फल औंसाकीरा मुक्त हुनु पर्ने समेत रहको छ । चीन मात्र होइन, बिश्व ब्यापार संघको सदस्यता पश्चात हामीले हाम्रा छिमेकी मुलुक भारत, बंगलादेशमा समेत हाम्रा उत्पादन पठाउनु अघि यस्ता औंसा कीराका बारेमा पुर्ण जानकारी राख्नु र शर्तहरु पुरा गर्नु पर्ने हुन्छ । बेला मौकामा नेपालमा अर्ग्यानिक उत्पादन गरेर यूरोप, अमेरिका र जापान जस्ता विकशित मुलुकमा उच्च मुल्यमा उत्पादन पठाउन सकिने कुरा पनि सुनिन्छ, तर औंसा ग्रसित क्षेत्रमा उत्पादन गरिएका कुनै पनि फल र फल तरकारि पठाउनु अघि त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न सकिने विधी बाट उपचार गरेर मात्र यी विकसित देशको बजारमा पठाउन सकिन्छ ।

औंसा के हो: आँप, अम्बा, काँक्रो, करेला जस्ता बिभिन्न किसिमका फलफूल र फल तरकारीमा औंसा परेको हामी धेरैले भेटेका छौं । औंसाहरु कीरा समूहका झिंगाका बच्चा हुन् , अर्थात, औंसाका माउ झिंगा हुन । फल कुहाउने औंसाहरु संसारभरी नै प्रमुख बिनाशी कीराका रुपमा चिनिएका छन् । नेपालमा पाइने फलकुहाउने औंसा ब्याक्ट्रोसेरा Bactrocera जातीमा पर्दछन् । यस समुहका धेरै जसो प्रजातीहरु चलनचल्तीका भाषामा फेरोमोन भनिने क्यूलुर Cuelure वा मिथाइल यूजिनोल Methyl eugenol भनिने रसानिक पदार्थ मा आकर्षित हुन्छन् । ब्याक्ट्रोसेरा जाती भित्र पनि फेरोमोन ट्रयापमा नआउने, केही प्रजातिहरू छन् ।  नेपालमा सुन्तला बालीलाइ खास गरेर ब्याक्ट्रोसेरा डोर्सालिस र ब्याकट्रोसेरा मिन्याक्स गरि दुइ प्रजातिले आक्रमण गरेको पाइएको छ । ब्याक्ट्रोसेरा डोर्सालिस धेरै प्रकारका फलफूलमा आक्रमण गर्ने, बर्षमा धेरै पटक जीवनचक्र पुरा गर्ने, मिथाइल यूजिनोल मा आकर्षित हुने प्रजाती हो । ब्याकट्रोसेरा मिन्याक्स सुन्तलाबालीमा आक्रमण गर्ने, बर्षमा एउटा मात्र जिवन चक्र पुरा गर्ने र उपरोक्त दुबै रसायनमा आकर्षित नहुने प्रजाती हो । यसरी   फरक चाल र बानी ब्यहोरा भएको प्रजातिको जिवन चक्र समेत फरक छ । तसर्थ, औंसा किरा नियन्त्रण गर्ने तौर तरिका पनि फरक हुन्छ । तसर्थ, सुन्तला बालीमा दुख दिने औंसा कुन प्रजातिको हो भन्ने निर्क्यौल गर्नु जरूरी छ ।

क) प्रजाती पहिचानः झिंगाको सहि पहिचान सर्वदा सबै भन्दा महत्वपूर्ण हुन्छ । औंसाका पहिचान प्रकृयामा माउ कीराको साइज, पखेटामा भएका नशा र धब्बा वा थोप्लाहरुको उपस्थिति र बनावट, टाउको छाती र पेटमा पाइने रंगका प्रकार, बिभिन्न प्रकारका रौ जस्ता अंगहरुको वितरणको निकै ठूलो भुमिका हुन्छ । त्यस्तै, पहिचान गर्न कुन फल वा तरकारी मा आक्रमण गर्दछ र कुन आकर्षक गन्धमा आकर्षित हुन्छ भन्ने कुराले पनि मद्दत गर्दछ । झिंगाका लार्भा (औंसा) का आधारमा पहिचान गर्न निकै कठिन हुन्छ ।

ब्या. डोर्सालिस, (Bactrocera dorsalis, Oriental fruit fly) औंसाको यो प्रजातीले मूख्यगरेर सुन्तला, आँप, मेवा, अम्बा लगायत धेरै प्रकारका फलफूल बालीमा आक्रमण गर्दछ । हालसम्म १७३ प्रकारका प्रजातीका बिरुवालाई यस कीराले आक्रमण गरेको पाइएको छ । नेपालमा पनि यो ब्यापक रुपमा फैलिएको औंसा कीरा हो । यो मिथाइल यूजिनोलमा आकर्षित हुने समूहमा पर्दछ । घर झिंगा भन्दा अलिकति ठूलो यसकीराको छाती कालो र पेट हल्का कालो वर्णको खैरो हुन्छ र छातीमा दुइवटा चम्किला पहेंला धर्साहरु पाइन्छन् ।  यिनिहरुको पखेटामा कुनै बुट्टा वा थोप्लाहरु नभएका, पुर्ण पारदर्शि हुन्छन्  (चित्र १)।

ब्या.  मिन्याक्स (B. minax, Citrus fruit fly) यो  औंसाले सुन्तला जात बालीमा बिषेश रुपमा सताउने गर्दछ । केही समय अगाडी सम्म यो कीरा धनकुटाक्षेत्रमा पाइएको बताइएको थियो भने हाल सिन्धुली रामेछापको जुनार उत्पादन क्षेत्रमा समेत फैलिएको बताइन्छ । यो झिंगा ब्याक्ट्रोसेराका अन्य प्रजाती भन्दा ठूलो हुन्छ र झट्ट हेर्दा सानो बारुलो जस्तो देखिन्छ । पखेटाको टुप्पा निर कालो धब्बा पाइन्छ (चत्र २)। पेट र छाती जोडिएको भाग केही सागुरिएको हुनु र झिंगा ठूलो साइजको हुनुले यसलाई सजिलै छुट्याउन सकिन्छ । नेपालको अलावा यो कीरा भुटान र चिनमा समेत फैलिएको छ ।

ख) जीवन चक्रः औंसा झिंगा पुर्ण रुपान्तरण हुने कीरा समुहमा पर्दछ । भाले झिंगा पोथी भन्दा केही सानो हुन्छ र पेटको पछिल्लो भाग बुच्चो हुन्छ । पोथी झिंगालाई यसको मोटो र डोलो पेट तथा पेटको टुप्पामा भएको तिखो चुच्चो फुलपार्ने अंगको सहायताले भाले बाट छुट्टयाउन सकिन्छ । पोथी झिंगाको शरीरको पछिल्लो भागमा रेडियोको एन्टेना जस्ता तन्काउन र खुम्च्याउन मिल्ने फुल पार्ने अंग हुन्छ । यसको तिखो टुप्पोले बालीका डाँठ, फूल र फल छेडेर आफ्नो फुल पार्दछ । कतिपय बालीमा यस्तो फुल पारिएको घाउमा बिरुवाको रस निस्केर जमेको देख्न सकिन्छ । झिंगाका फुलहरु हल्का रुपमा बाङ्गिएका र चम्किला सेता रंगका हुन्छन् । यस्ता फुल बाट मसिना औंसा कीरा निस्कन्छन् । औंसाको कुनै खुट्टा हुदैन । टाउको तिर चुच्चो परेको हुन्छ भने पुच्छर तिर मोटो हुन्छ । औंसाको मुखाकृति एकदमै अल्पविकसित हुने भएकोले खाना चपाउन सक्दैन, तर झोल खानेकुरा चुस्न सक्दछ । औंसा परेका फलहरु कुहिन शुरु गर्दछन् । कतिपय अवस्थामा यस्ता फल कुहिएर झर्दछन् । कुहिंदै गरेको फलको रस चुसेर औंसाहरु बढ्दछन् र पुर्ण विकसित भए पछि फलमा प्वाल पारी बाहिर निस्कन्छन् । फलबाट निस्किएको औंसा जमीनमा सुरक्षित स्थान खोजेर लाम्चो, मादल आकारको खैरो रङ्गको प्युपामा बदलिन्छ । पछि यसै बाट माउ झिंगाहरु निस्कन्छन् । यि माउहरु गुलियो चिनीयुक्त खाना खाएर बाँच्न सक्ने भए पनि प्रोटीनयुक्त खाना नखाएसम्म सन्तान उत्पादन गर्न सक्दैनन् । माउ झिंगाहरु खानाको खोजीमा कुहिदै गरेको फल, विरुवाको फूल, चराको विष्टा जस्ता खानेकूरा खोज्दै हिड्दछन् । यिनिहरुलाई चर्को घाम मन नपर्ने भएकोले बोट विरुवाका छाहारीमा, पातको तल्लो सतहमा आराम गरेर बसेको भेटिन्छ । जीवन चक्र पुरा गर्न लाग्ने समय हावापानी मा भर पर्दछ, गर्मी समयमा छिटै यो चक्र पुरा गर्दछन् भने चिसोमा लामो समय पनि लाग्दछ । ब्या. डोर्सालिसले एक वर्षमा धेरै बंश (५ देखि १५) पुरा गर्न सक्ने भए पनि ब्या. मिन्याक्सले बर्षको एउटामात्र चक्र पुरा गर्दछ ।

ग) झिंगा अनुगमनः झिंगाको गतिविधिको बारेमा जानकारी भएमा नियन्त्रण सरल हुन्छ । धेरै जसो औंसाका भालेहरु मिथाइल यूजिनल वा क्यूलुरमा आकर्षित हुने भएकोले यिनिहरुको प्रयोग बाट यस्ता झिंगाको अनुगमन र केही हद सम्म नियन्त्रण गर्न सकिन्छ । यि आकर्षक पासोमा मिथाइल यूजिनलले करीब पौने किमि टाढाबाट झिंगाहरू आकर्षण गर्न सक्दछन् । यस्ता आकर्षक पदार्थलाई मोहनी पासोमा प्रयोग गर्नु पर्दछ । मोहनी पासो Pheromone trap मा भाले झिंगामात्र आकर्षित हुने भएकोले फलहरुमा आक्रमण गर्ने पोथीहरुको अनुगमन गर्न प्रोटीन युक्त म्याकफेल पासोहरुको प्रयोग गर्नु पर्दछ । मिथाइल यूजिनोल मा आकर्षित नहुने ब्या. मिन्याक्सलाइ भने प्रोटिनयुक्त म्याकफेल पासोको (चित्र ३) सहायताले अनुगमन गरिनु पर्दछ ।

यसरी अनुगमन गर्दा प्राप्त आकडाका आधारमा झिंगा नियन्त्रणको योजना बनाउन र पछि झिंगा नियन्त्रण कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न समेत मद्दत पुग्दछ ।

) नोक्सानको आकलन: औंसा झिंगाको आर्थिक महत्व औंसाकिराले बाली विरुवामा गर्ने नोक्सानी, यसले पुर्याउने क्षतिका कारण उत्पादनमा आउने कमि, कीरा नियन्त्रणमा लाग्ने खर्च र यसका कारण लाग्न सक्ने ब्यापार प्रतिबन्ध र ब्यापारकालागि आवश्यक उपचार विधीकालागि लाग्ने खर्चको हिसाब गरेर मात्र निर्क्यौल गर्नु पर्दछ । औंसा लागे पछि फलहरू कुहिने र झर्ने हुन्छ । झरेका सबै फल औंसाका कारणले मात्र नभइ अन्य कारणले पनि हुन सक्दछ । तसर्थ, औंसाको कारणले भएको नोक्सानिलाइ सहि रूपमा आकलन गरीएमा पछि प्रयोग गरिएको नियन्त्रणका उपायहरू कति प्रभावकारी भए भन्ने मुल्यांकन गर्न पनि सरल हुन्छ ।

ङ) औंसा नियन्त्रण

१.पासोको प्रयोग: ब्या. डोर्सालिसलाइ मिथाइल यूजिनोल र विषादीयुक्त पासोको प्रयोग गरेर भाले झिंगा विनाश कार्य गर्न सकिन्छ । तर मिन्याक्स भने यस्ता रसायनमा आकर्षित नहुने भएकोल प्रोटिनयुक्त चारोको प्रयोग गर्नु पर्दछ ।

२. सरसफाईः औंसा लागेका फलहरुलाइ जम्मा गरेर त्यस भित्रको झिंगाका फुल र औंसाहरुलाई नष्ट गर्न सके क्रमिकरुपमा औंसालाई नियन्त्रण गर्न सकिन्छ । तातो पानीमा पकाएर, कुँडो बनाएर, वा गहिरो खाल्डोमा पुरेर, वा मसिनो जालीघर वा पाल भित्र थुनेर तिनिहरुलाइ मारेमा झिंगाको अर्को बंश निस्कन पाउदैन र क्रमशः तिनीहरुको संख्या घट्न जान्छ ।

३. विषादीयुक्त चारो झिंगाका माउहरू जब प्युपाबाट निस्कन्छन् तिनीहरूफुल पार्न तैयार भएका हुँदैनन् । फुलपार्न यी झिंगाहरूले प्रोटिनयुक्त खाना खानु जरूरी हुन्छ । झिंगाको यहि कमजोरीलाइ उपयोग गरेर प्रोटिनयुक्त चारो बनाइन्छ र त्यसलाइ विषादी सँग मिसाएर बालीमा छर्नु पर्दछ । यसरी चारो विषादी छर्दा अन्य विष जस्तो पुरै बालीमा छर्नु पर्दैन, करिब २५ फुटको दुरीमा करिब २० मिलि जति छर्नु पर्दछ । प्रोटिनको गन्धमा झिंगा आकर्षित भै खाँदा विष लागेर मर्दछ ।

४. जैविक नियन्त्रणः औंसाका फुल र लार्भाहरु फलभित्र सुरक्षित रहने भएकोले धेरै हदमा यिनिहरु आफ्ना शत्रुहरु, खासगरेर शिकारी कीरा तथा चराको आक्रमणबाट बच्न सफल हुने गर्दछन् । प्युपा बन्ने तरखरमा लागेका र बनिसकेका लार्भाहरु भने बिभिन्न प्रकारका कमिलाहरुको शिकार हुने गर्दछन् । फल भित्र सुरक्षित रहे तापनि बारुला समुहका केही परजिवि कीराहरुले आफ्नो लामो फुलपार्ने अंगको सहायताले यिनिहरुको फुललाई आक्रमण गर्दछन् । खास गरेर फोपियस जातीका बारुलाले औंसाका फुलमा आफ्नो फुल पार्दछ र त्यसलाई नष्ट गर्दछ । त्यस्तै डिह्रीनस जातीका बारुलाले लार्भा औंसा तथा प्युपामा आक्रमण गर्दछन् र तिनिहरुलाई मारिदिन्छन् । यस्ता परजिवि कीरा नेपालमा छन् की छैनन् भनि कुनै अध्ययन गरिएको छैन । अन्य देश बाट आयातित यस्ता परजिवि कीराले अमेरिकाको हवाइमा निकै सकृयता पुर्वक औंसा नियन्त्रण गरेको पाइएको छ । नेपालमा पनि प्राकृतिक रूपमा नै केही परजिविहरू हुन सक्दन्, तिनिहरुको खोजी गरि उपयोग गर्ने तर्फ काम गर्नु जरूरी छ ।

५. क्षेत्रगत सहभागिता छरछिमेकीलाई संलग्न गराउनेः झिंगाहरु उडेर एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने भएकोले एक जनामात्र किसानको मेहनत कम प्रभावकारी हुने भएकोले छर छिमेकका धेरै भन्दा धेरै किसानहरुलाई औंसा नियन्त्रणका प्रविधि अपनाउन प्रेरित गर्नु पर्दछ ।

च) फलफूल आयात: आजकल नेपाली बजारमा पनि केवल छिमेकी देश बाट मात्र नभएर संसारका विभिन्न देशमा उत्पादन गरिएका ताजा फलफूलहरू पाइन्छन् । यस्ता ब्यापार सँगै नया नया रोग र कीराहरू पनि भित्रने संभावना बढ्दै जान्छ । तसर्थ, हामीले पनि कुन देशबाट आयात हुने कुन फल वा तरकारीमा के कस्ता रोग कीरा लागेका छन्, र तिनिहरूलाइ नेपाल प्रवेशमा रोक लगाउन के कसता प्रावधान लागु गर्नु जरूरी छ भन्ने कुराका बारेमा बेलैमा सतर्क हुनु जरूरि छ । उदाहरणको लागि, भारतमा १५२ प्रकारका औंसा कीरा  पाइएको प्रतिबेदनहरु प्रकाशित भएको भए पनि दक्षिण भारतबाट ब्या. ल्याटिफ्रन्स, भुटानबाट ब्या. मिन्याक्स, जम्मु कश्मीर बाट ब्या. ओली, तथा अण्डमान र निकोबार टापुहरुबाट ब्या. अल्बिघिगा र ब्या.क्यारम्बोला गरि ५ वटा औंसा कीरालाई आन्तरिक क्वरेण्टीन मार्फत नियमित गरिनु पर्ने श्रेणीमा राखेको छ । नेपालमा पनि जैतुन खेतीको बिस्तार भैरहेको परिप्रक्ष्यमा ब्या. ओलीको प्रवेश हुन नदिन विषेश ध्यान दिनु पर्दछ । त्यस्तै कार्पोमिया भेसुभिएना बयरको खतरनाक शत्रु कीरा पनि भारतमा निकै फैलिएको छ र नेपाल प्रबेश गरेमा यसले ठुलो हानी पुर्याउन सक्ने छ । आफनो देशमा भएका र नभएका दुबै खाले औंसाकीराको राम्रो जानकारी राख्न सकेमा आवश्यक निगरानी र नियन्त्रण गर्न सजिलो हुने छ ।- राजु पाण्डे

प्रकाशित मिति: मङ्लबार, असार २८, २०७३