बिहिबार, चैत्र १५, २०८०

सामूहिक रुपमा आलुको बीउ उत्पादन

कञ्चनपुर, फागुन । शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ । कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रूपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन ।
कार्डिनल २०, आइपिवाई आठ ३० र खुमल उज्ज्वल ३० गरी ८० क्विन्टल आलुको बीउ उत्पादन गरिएको समूहका अध्यक्ष पुरनबहादुर डगौराले बताए । पहिलो पुस्ताको बीउबाट १५ वर्षसम्म खेती गरी आम्दानी लिन सकिने डगौराले बताए । समूहका सदस्यलाई पहिलो प्राथमिकता तथा समूहमा बिक्री नभएको बीउ समूह बाहिर बिक्री गर्ने योजना छ । भण्डारण गृहबाटै खरिद गरेर लैजाने किसानलाई प्रतिकिलो रु ३० का दरले बीउ बिक्री गर्ने समूहका सचिव लक्ष्मणसिंह डगौराले बताए । शीतभण्डार गृहमा राखेपछि आलुको बीउ प्रतिकिलो रु ५५ मा बिक्री हुन्छ ।
भण्डारण गर्दा लाग्ने शुल्क, ढुवानी र लोडअनलोड गरी आलुको बीउको मूल्यमा वृद्धि हुने डगौराले बताए । गतवर्ष समूहले ५० क्विन्टल बीउ उत्पादन गरेको थियो । विसं २०६० देखि आलुको बीउ उत्पादन गर्दै आएको उक्त समूहले बीउ बिक्री गरेर रु १७ लाख ४० हजार रकम समूहको बीउ कोषमा जम्मा गरेको छ । कोषमा जम्मा गरेको रकम व्यावसायिक तरकारीखेती गर्ने समूहका सदस्यलाई न्यून ब्याजमा उपलब्ध गराइन्छ ।
कोषको रकम खर्चेर यहाँका किसान तरकारी खेतीका लागि जिल्लामै चिनिएका छन् । व्यक्तिगत रूपमा व्यावसायिक आलुखेती गर्ने किसानले करिब सात सय क्विन्टल आलु उत्पादन गरेका छन् । यहाँ उत्पादित आलु कञ्चनपुरसहित प्रदेश नं ७ को पहाडी जिल्लामा बिक्री गरिन्छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २८, २०७४