बिहिबार, चैत्र १५, २०८०

सामूहिक उखुखेतीतर्फ आकर्षित

रामपुर, पाल्पा, १७ पुस । शहरउन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो । बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेपछि परम्परागत रुपमा गर्दै आएको उखुखेती यहाँका स्थानीयले विगत एक दशकयता उखु लगाउन छाडेपछि बाहिरबाट खुदो निर्यात हुँदै आइरहेको छ ।
बाहिरबाट निर्यात हुँदै आएको खुदोलाई कम गर्न सूर्योदय कृषि सहकारी संस्था रामपुरले गत वर्षदेखि सामूहिक रुपमा उखुखेती लगाउँदै आएको छ । रामपुर नगरपालिका–३ को कीर्तिपुरमा ५२ रोपनी जग्गामा लगाइएको उखुखेती अवलोकन गर्ने, उखु, खुदो खरिद गर्नेको अहिले उत्साह बढ्दो छ । सहकारीले रामपुर बजारमा उखु र खुदोको माग अत्यधिक बढ्न थालेपछि जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेको हो । रामपुरको बेझाड बजारदेखि आधा घण्टाको समय सवारीसाधनमा समय खर्चिएर नमूना उखुखेती अवलोकनकै निम्ति जानेको संख्या अत्यधिक छ ।
अहिले उखु पेल्ने काम भइरहेको हुँदा दिनभर १०० भन्दा बढी ग्राहक अवलोकन गर्दै उखु, खुदो खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउछन् । उनि भन्छन् , “गत वर्ष ३६ रोपनी जग्गामा उखु लगाइयो, सबै खर्च कटाएर रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल भयौँ, उखु र खुदोको माग पनि बढ्यो ।” “अहिले गत वर्षको तुलनामा १६ रोपनी जग्गा बढाएर ५२ रोपनीमा उखु लगाएको बताए  ।
“उखु पेल्ने काम भइरहेको छ । यस वर्ष झण्डै रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने अनुमान छ,” श्रेष्ठले भने । यहाँ उत्पादन भएको खुदो फुटकर प्रतिमाना रु १०० र थोक मूल्यमा -२० मानाभन्दा माथि लैजानेका लागि रु ८५ मा बिक्री भइरहेको सहकारीका उपाध्यक्ष सोमबहादुर सेनले बताए । स्थानीयस्तरमा उत्पादन भएको गुणस्तरको ताजा खुदो खरिदका लागि एक घण्टाको समय बिताएर उखुखेती अवलोकन गर्न र खुदो खरिद गर्न आएको रामपुरका स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउछन् । सहकारीले रामपुरलाई उखुखेतीका रुपमा चिनाउने उद्देश्यले उखुखेतीलाई प्राथमिकता दिएर व्यवसाय अगाडि बढाउँदै गएको छ ।

प्रकाशित मिति: सोमवार, पुस १७, २०७४