सरकारी वा गैरसरकारी स्तरबाट गरिएका प्रयासहरु निष्प्रभावी हुनसक्छन

Nov 27 • Wide News A, अन्तरवार्ता

arun GC, agro
अरुण जि.सी
कृषि प्रसार अधिकृत
KEI Honorable Mention अवार्ड विजेता

० अन्तर्रािष्ट्रय KEI Honorable Mention अवार्ड पाउनु भएको छ कस्तो अनुभूति भइरहेको छ ?
कुनै पनि कार्य वा परिश्रमले पहिचान पाउँदा स्वभाविक रुपमा खुसी भइहाल्छ । त्यो भन्दा धेरै सानै स्तरमा किन नहोस् आफ्नो देशको नाम अन्तर्राष्ट्रिय स्तरमा पुग्नु सुखद हो जस्तो लाग्छ । त्यति मात्र नभइ अहिले अन्तर्राष्ट्रिय स्तरमा लिइएको दीगो विकास लक्ष्यको अभिन्न अंगको रुपमा रहेको कृषि क्षेत्र र जलवायु परिवर्तनका विषयमा भएको खोज अनुसन्धानले गर्दा यसको थप महत्व बढेको छ ।
० नेपालको सन्दर्भमा यो अवार्डले के अर्थ राख्छ ?
वास्तवमा यो वैज्ञानिक अनुसन्धानको एक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस प्रकारमा विभिन्न प्रतियोगिताहरु विश्वका विभिन्न स्थानमा भइरहेका हुन्छन् । मैले नेपालमा जलवायु परिवर्तनलाई कृषकहरुले कुन रुपमा ग्रहण गरिरहनु भएको छ र यसले निम्त्याएका प्रतिकुल प्रभावहरुसँग जुध्न र अनुकुलनक अपनाउन के कस्ता कारक तत्वहरुले कस्तो प्रभाव परिरहेको छ भनेर अनुसन्धान गरेको थिए । यस पुरस्कारले मैले गरेको शोधलाई दुइ भिन्नाभिन्नै पाटोबाट राष्ट्रलाई योगदान गरेको मेरो बुझाई छ । पहिलो, मेलै अघि भने जस्तै जलवायु परिवर्तनलाई कृषकहरुले कसरी ग्रहण गर्नु भएको छ र यसलाई के कुराले फरक पार्दछ भन्ने पहिचान भएको छ । यसको अर्थ के हो भने जलवायु परिवर्तन त भएकै छ । तर जबसम्म कृषकहरुले यसलाई परिवर्तनकै दिशामा पहिचान गर्न सक्नु हुन्न वा स्वीकार गर्न सक्नु भएन भने सरकारी वा गैरसरकारी स्तरबाट गरिने अनुकुलनका प्रयासहरु निस्प्रभावी हुनसक्छन् । यसले ठूलो श्रोतको उचित सदुपयोग हुन सक्दैन । त्यसै गरी कृषकका के कस्ता गुणहरुले गर्दा यस्तो परिवर्तनलाई सहि दिशामा ग्रहण गर्न सक्नु भएको छैन भन्ने पहिचान भएपछि हामीले भविष्यका योजना तर्जुमा गर्दा यसै आधारमा टेकेर सुशुप्त कमी कमजोरीहरुलाई सुधार गरी प्रभावकारी रुपमा योजना कार्यान्वयमा मद्दत पुग्दछ । दोस्रो पक्ष, जब यस प्रकारका अनुसन्धानहरु अन्तर्राष्ट्रिय मञ्चमा पुग्छन तब यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली कृषि तर्फ आकर्षण गर्न मद्दत मिल्दछ र अन्तर्राष्ट्रिय सहयोग र समन्वयको लागि एक कोशे ढुंगा पनि हुन्छ ।
० यस अघि यो पुरस्कार कस्ले हाँसिल गरेका थिए ?
यो एक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । मेरो जानकारीमा भएसम्म यस अघि नेपालबाट यस प्रतियोगितमा विजयी भएका छैनन् । तर अन्तर्राष्ट्रिय भएका कारण अन्य थुप्रै देशका शोधकर्ताहरु यस प्रतियोगितामा भाग लिने र विजय हुने गरेका छन् । यो अवसर नै नेपालको लागि पहिलो हो जस्तो लाग्छ र “Perception to Adaptation of Climate Change in Nepal: An Empirical Analysis using Multivariate Probit Model नामक मेरो शोधले यो अवसर प्राप्त गरेको छ ।
० नेपालको दीगो विकासका लागि यसको महतव के छ ?
सन् २०१५ पश्चात विश्व दीगो विकास लक्ष्य हासिल गर्न लागि परेको छ । यसै सन्दर्भमा, दक्षिण कोरियाको प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरिया वातावरण संस्थान (Korea Environment Institute) ले कोरियाको वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्र हेर्ने आर्थिक तथा सामाजिक आयोग (UNESCAP) ले प्रायोजन गरेर 2017 KEI International Paper and Idea Competition आयोजना गरेका हुन् । यसको उद्देश्य भनेको विश्वभरीबाट दीगो विकास लक्ष्य, जल वायु परिवर्तन, विभिन्न वातावरणीय पक्षहरुमा भए गरेरका अनुसन्धानहरुबीच प्रतिस्पर्दा गराई उत्कृष्ट नतिजाहरुलाई नीति निर्माणमा जोड्नु हो । यसमा छनौट तथा मूल्यांकनका लागि चारवटा सूचकहरु प्रयोग भएको थियो । पहिलो सूचक अनुसन्धानको रचनात्मकता र अन्तरविषय (inter-disciplinary) पद्दती, दोस्रो अनुसन्धानमा प्रयोग भएको पद्दती (methodology) र तार्किकता, तेस्रो, विश्वासनियता र अन्तिममा, अनुसन्धानका नतिजाहरुको नीति निर्माणमा प्रयोग हुन सक्ने क्षमता । यसले के देखाउछ भने यस प्रतियोगितामा छनौट भएका शोधहरु दीगो विकास नीतिसँग प्रत्यक्ष सरोकार राख्नै पर्दछ । यसका साथै दीगी विकास लक्ष्य पहिलाको सहस्राब्दी विकास लक्ष्यले जलवायु परिवर्तनलाई आवश्यक स्थान दिएको थिएन । तर यस बीचमा विभिन्न अनुसन्धानले के प्रमाणीत गरे भने यदि जलवायु परिवर्तनको सामना गर्न उचित कदम चालिएन भने प्राप्त उपलब्धी पनि गुम्न सक्छ र यसको असर अकल्पनिय हुन्छ । अतः दिगो विकास लक्ष्यले लक्ष्य १३ मा जलवायु कृया (Climate Action) भनि तोकेको छ । यसका साथै शून्य भोकमरी (Zero Hunger) , शून्य गरिबी जस्ता थुप्रै लक्ष्यहरु कृषि र जलवायुसँग प्रत्येक्ष सरोकार राख्दछन् । यसर्थ, यस शोधले दीगो विकासमा विभिन्न आयामहरुलाई समेटेको छ ।
० नेपाल सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
यस्तै प्रकृतिका विभिन्न अनुसन्धानहरु नभएका होइनन् । तर यस्ता अनुसन्धानबाट आएका नतिजाहरुलाई नीति निर्माणमा प्रयोग गर्ने कार्यमा पर्याप्त ध्यान दिन जरुरी छ । यसो हुन नसक्दा अनुसन्धानको उपलब्धीहरु लक्षित वर्गसम्म नपुग्ने त छदैछ यसले अनुसन्धानकर्ताहरुको मनोबललाई पनि बढावा दिन सक्दैन । अतः अनुसन्धान र नीतिको सामिप्यतालाई प्रबर्द्धन गर्न कन्जुसाई गर्न हुन्न र अनुसन्धानकर्ताहरुलाई अनुसन्धानको वातावरण दिनुका साथै मनोबल पनि उच्च बनाउनु पर्छ । -वैकुण्ठ भण्डारी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »