शुक्रबार, चैत्र १६, २०८०

सरकारलाई तर्साउन कुखुराको चल्ला उत्पादन बन्द गर्ने धम्की !

काठमाडौं, मंसिर । सुखी नेपाली, समृद्ध नेपालको नारा बोकेर अगाडि बढेको सरकारले विकासका काम गर्न नसकेको मौका छोपी विभिन्न व्यवसायीहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि यो वा त्यो नाममा धम्क्याउने काम गर्र्दै आईरहेका छन् ।

त्यही मेलोमा अहिले नेपाल ह्याचारी उद्योग संघले आईतबारबाट ब्रोइलर कुखुराको चल्ला उत्पादन नगर्ने भन्दै सरकारलाई धम्क्याउने काम गरेको छ ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले लागत मूल्य बढी भएको भन्दै १० दिनसम्म चल्ला उत्पादन बन्द गरेको बताएका छन् । १० दिनसम्म चल्ला वन्द गरेर उत्पादन गर्दा व्यवसायीहरुलाई पुग्छ त ? यसको विषयमा पोखरेल मुख खोल्न चाहँदैनन् ।

विगतदेखि नै नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरुले नै भारतबाट रातारात चल्ला ल्याउने र नेपाली उत्पादन हो भन्दै विक्री गर्दै आएका प्रशस्त उदाहरणहरु छन् । अहिले पनि चल्ला उत्पादनमा घाटा देखाएर भारतबाट आयात गर्ने षडयन्त्र भईरहेको छ ।

केही महिना अघि मकवानपुरमा वर्डफ्लु देखा पर्दा नेपाल ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलकै अगुवाईमा चितवनका कुनै पनि फार्ममा वर्डफ्लु परिक्षण गर्न दिइएको थिईन् । वर्डफ्लुका विरुद्ध कुखुरामा भ्याक्सिन लगाउनु पर्ने भन्दै गैरकानुनी रुपमा नेपालमा वर्डफ्लुको भ्याक्सिन विक्री गर्ने व्यक्ति हुन् संघका अध्यक्ष पोखरेल ।

यस अघिका कृषि मन्त्री चक्रपाणी खनालले भारतबाट नेपाल आयात गर्ने कुनै पनि पशुपन्छीको स्वास्थ्य परिक्षण प्रमाणपत्र भए मात्र आयात गर्न पाउने नियम ल्याईदिएका थिए । जसका कारण भारतीय उत्पादनलाई नेपाली उत्पादन भन्दै विक्री गर्ने धेरै व्यापारीहरु तनावमा थिए । बर्षौदेखि साधारण किसानहरुलाई लुट मच्याउँदै आईरहेको ह्याचरीका मालिकहरु समेत मन्त्रीका विपक्षमा उभिएका थिए ।

अहिले फेरि व्यवसाय घाटामा गएको भन्दै भारतबाट कुुखुराको चल्ला भित्र्याउन सहज वातावरण बनाउनका लागि सरकारलाई धम्क्याउँर्दै १० दिन उत्पादन बन्द गर्ने निर्णय गरेका छन् ।

को हुन् टिकाराम पोखरेल ? उनले विगत यस्तो छ ।

नेपाल ह्याचरी संघ मात्र होइन नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष पनि हुन् टिकाराम पोखरेल । व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्ने संस्थाका नेतृत्वकर्ताहरु नै गैरकानूनी धन्दामा सक्रिय छन् भन्ने कुराको पुष्टि नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष एवं नेपाल पोल्ट्रि महासंघका वरिष्ट उपाध्यक्ष टिका पोखरेलले गरेका छन् । नेपालमा प्रतिवन्धित वर्डफ्लु भ्याक्सिनहरु आयात गरी गैरकानूनी धन्दा सञ्चालन गरिरहेका छन् ।

नेपालका बढ्दै गईरहेको वर्डफ्लु रोक्नका लागि भन्दै उनले नेपाल सरकारलाई समेत चुनौती दिँदै भारतबाट गैरकानूनी ढंगले भ्याक्सिन आयात गरी विक्री वितरण गर्दै आईरहेका थिए । गैरकानूनी ढंगले प्रतिवन्धित भ्याक्सिन आयात गरी विक्री वितरण गरेको विषयमा उनले सरकारले ल्याउन स्वीकृत नदिएपछि आपूmले कुखुरा बचाउनका लागि ल्याएको बताउँदै आईरहेको थिए जुन गैरकानूनी थियो ।

कुखुरा बचाउने नाममा पोख्रेलले गैरकानूनी ढंगले भ्याक्सिन आयात गरी विक्री वितरण गरिरहेका छन् भने सोही भ्याक्सिनका नाममा किसानहरुमाथि ब्रम्हलुट चलाउने काम पोख्रेलले गरेका थिए ।
देशभरीका ह्याचरी व्यवसायीहरुको हक हितका लागि आवाज उठाउनु पर्ने व्यक्ति नै व्यवसायीहरुको विपक्षमा देखिएका छन् । आफू गैरकानूनी ढंगले भ्याक्सिन आयात गर्ने तर व्यवसायीहरुले भारतबाट ल्याएको चल्ला तथा अण्डाहरु जर्वजस्ती हस्तक्षेप गरी मेसिनबाटै फाल्ने गरेका थिए।

नेपाल डब्लु टि ओको सदस्य भएका कारण भारतबाट चल्ला आयात गर्न कहिँकतै पनि रोकिएको छैन । बरु भारतबाट आयात गरिने पशुपन्छी क्वारेन्टिनबाट परिक्षण गरेर ल्याउन पाउने भएपनि उनले आप्mनो लुटको धन्दा फस्टाउन नपाउने भएपछि न त अण्डा ल्याउन दिएका थिए न त चल्ला ।

त्यसबेला अध्यक्ष पदको दुरुपयोग गर्दै उनले गैरकानूनी धन्दा चलाईरहेका थिए र अहिले पनि त्यसै गरिरहेका छन् । आफू अनुकूल नहुँदा विगतमा उनले नेपालका सिमानामा रहेका सशस्त्र प्रहरी वललाई उनले हात लिएर भारतबाट आउने चल्ला तथा अण्डा नष्ट गर्न समेत गर्दै आएका छन् । प्रति चल्ला वा अण्डा नियन्त्रणमा लिएर नष्ट गरे बापत पाँच रुपैयाँका दरले सशस्त्र प्रहरीलाई उनले दिने गरेको बताए ।

गैरकानूनी ढंगले आएका चल्ला तथा अण्डा नष्ट गर्ने काम सशस्त्रले गर्ने गरेको भएपनि किन प्रति अण्डा वा चल्ला नष्ट गरे वापत पाँच रुपैयाँ दिएको भन्ने प्रश्नमा पोखरेलले भने, ‘ सशस्त्र प्रहरी बललाई प्रोत्साहन स्वरुप सो रकम दिने गरेको समेत उनले त्यसबेला बताएका थिए ।

अहिले कच्चा पदार्थको मूल्य बृद्धि भएपछि चल्ला उत्पादनमा लगानी बढ्न थालेपछि नेपालमा उत्पादन गर्नु भन्दा भारतबाट नै सहज रुपमा चल्ला ल्याएर विक्री गर्ने सोचले कुखुराको चल्ला उत्पादन वन्द गर्ने घोषणा गरेका हुन् । यदि सरकारले यी व्यापारीहरुले तालमा लागेर भारतबाट स्वास्थ्य परिक्षण प्रमाणपत्र जारी नगरी चल्ला ल्याउन दिने हो भने मुलुकमा ठूलो संकट पर्ने देखिन्छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २९, २०७६