शुक्रबार, बैशाख ७, २०८१

सम्पादक भण्डारीलाई सीतादेवी स्मृति पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं, बैशाख । नेपाल पत्रकार मञ्चले यो वर्षको सीतादेवी स्मृति पत्रकारिता पुरस्कार कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीलाई प्रदान गरेको छ । दुई दशकदेखि नेपाली पत्रकारिता क्षेत्रका निरन्तर क्रियाशील रही एक दशदेखि कृषि पत्रकारितामा सक्रिय भण्डारीलाई मञ्चले २० हजार १ रुपैया राशी सहितको सो पुरस्कार प्रदान गरेको हो ।

नेपालको वीट पत्रकारितामा कृषि पत्रकारिताको विकासका लागि भण्डारीले एक दशक कृषि विषयमा नेपालको पहिलो साप्ताहिक पत्रिकाका रुपमा कृषि साप्ताहिक प्रकाशनको शुरुवात गरेका थिए । पत्रिकासंग डिजिटल पत्रिका कृषि अनलाईन पनि उनकै योगदान हो ।

भण्डारीले नेपालमा कृषि पत्रकारिता शुरु गरी यसको जग बसाउने कार्यको बीजारोपण गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी मञ्चले १५ हजार राशी सहितको प्रताप स्मृति पत्रकारिता पुरस्कार चन्द्रमणि भट्टराईलाई प्रदान गरेको छ । विकास पत्रकारितामा डेढ दशकदेखि सक्रिय भट्टराईलाई विकास पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो  ।

कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत साइद अल नाक्वीले नेपाली जनताको आवाज सञ्चार माध्यमले बोल्न थालेकै कारण पारदर्शिता र विकासमा समावेशीताले स्थान पाउने बताएका छन् उनले अभिव्यक्ति स्वतन्त्रताका लागि ख्याल गर्न आग्रह पनि गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संसदमा लगिएको विधेयक पत्रकारका विपक्ष र प्रेस स्वतन्त्राको विपक्षमा भएको धारणा राखेका थिए । उनले दुई तिहाईको सरकराले पत्रकारहरुलाई लेख्नबाट बन्देज लगाउने प्रयास गरेको समेत आरोप लगाए ।  कार्यक्रममा नेपाल टेलिभिजनकी निर्देशक एवं लैङ्गिक बिश्लेषक आरती चटौतले स्वतन्त्र पत्रकारिता गर्ने वातावरणले कसैलाई नोक्सान नहुने बताइन् ।

प्रकाशित मिति: सोमवार, बैशाख ३०, २०७६