शुक्रबार, चैत्र १६, २०८०

समाचार प्रभाव : मन्त्रालयले भिसा सिफारिस नदिन पत्र लेख्यो

काठमाडौं, फागुन । कृषि विकास मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुले अख्तियारी दुरुपयोग गर्दै सरकारी ढुकुटी दोहन गर्न लागेको समाचार कृषिमा प्रकाशित भएपछि त्यसले व्यापक चर्चा पाएको छ । किसानका लागि आएको अनुदानको रकममा श्रीमती लिएर अष्टे«लिया भ्रमण गर्न लागेका कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्यको नेतृत्वमा श्रीमती सहितको टोलीको नामावली सहति कृषिले समाचार प्रकाशित गरेको थियो ।
कृषि मन्त्री रामकृष्ण यादवले मन्त्री पद खुक्किन केही दिन वाँकी रहँदा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत श्रीमती सहित अष्ट्रेलिया भ्रमण गर्ने निर्णय माघ २४ गते गरेको थियो । मन्त्रीको निर्णयका आधारमा कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्य, कृषि मन्त्रालयकै कानून शाखाका उपसचिव खिमानन्द भूसाल, आयोजना प्रमुख शिवनन्दनप्रसाद शाह, लेखा अधिकृत टिकाराम रिजाल समेतको श्रीमतीहरु र शाखा अधिकृत गौरी अधिकारीका श्रीमान् शिवहरी अधिकारी समेतलाई भिसा उपलब्ध गराउन मन्त्रालयले परराष्ट्र कन्सुलर शाखालाई पत्र पठाएको थियो ।
मन्त्रालयले पठाएको पत्रकै आधारमा भिसा उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले सम्वन्धित एम्वेसीलाई पत्र पठाउने तयारी गरिरहँदा कृषिअनलाईनले सो सम्वन्धमा माघ २७ गते नै विवादित रुपमा समाचार प्रकाशन गरेपछि मन्त्रालय हच्केको छ ।
दुई दिन अगाडि मात्र श्रीमती सहितलाई भिसा उपलब्ध गराउन सहयोगको अपेक्षा गर्दै पत्र लेखेको कृषि विकास मन्त्रालयले समाचार बाहिर आएपछि पुन ः चलानी च.नं. २७९ मार्फत मनोनयन स्वीकृत व्यक्तिका लागि मात्र भिसा प्रक्रिया अगाडि बढाउन पत्र लेखेको छ ।
कृषि विकास मन्त्रालयले कन्सुलर शाखालाई दुई दिनमा दुई प्रकारका पत्र पठाउनुको कारण के हो ? खोजीको विषय बनेको छ । सो विषयमा छानविन गरी दोषी माथि कार्वाहीको माग गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४