बुधबार, बैशाख १२, २०८१

सखरखण्ड खेती लोकप्रिय हुँदै

काठमाडौं,जेठ । सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ ।

‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए ।

पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन् ।

अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताउछन् ।

नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्मा बताउछन्। उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।

मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन् । यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५