शुक्रबार, चैत्र १६, २०८०

शुभधारणा सहकारीको ‘स्पेशल ब्रेड’ उपभोक्ताको स्वास्थ्यमा खेलबाड

काठमाडौं, साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन कार्यलाई फितलो बनाउँदा उपभोक्ताहरु गुणस्तरहीन खाद्यबस्तु उपभोग गर्न वाध्य छन् । गत महिना भ्रष्टाचार गरेको आरोपमा विभागको महानिर्देशक सञ्जिव कर्ण सहितकाका उच्च कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि विभाग सक्रिय हुन सकेको देखिँदैन ।
विभाग सक्रिय नभएकै कारण अहिले बजारमा खाद्य सामग्रीहरु मनमरी ढंगले बेचिएको देखिन्छ । यसको ज्वलन्त उदाहरण काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ५ मा रहेको शुभ धारणा बहुउदेश्यि सहकारी संस्था मातहतमा रहेको शुभधारणा ग्रुपले उत्पादन गरेको पाउरोटीले नै पुष्टि गरेको छ ।
शुभ धारणाले उत्पादक गरेको ‘स्पेशल ब्रेड’ नामकोमा उल्लेखित मिति उत्पादन मिति भन्दा केही दिन पछाडिको राखेर बजारमा विक्री गर्दै आईरहेको छ ।
कृषि अनलाईनलाई प्राप्त शुभधारणाले उत्पादन गरेको पाउरोटी श्रावण १९ गते अर्थात अगष्ट ४ मा बजारमा विक्रीका लागि खुद्रा पसलमा राखिएको छ । नियम अनुसार खाद्यबस्तु विक्रीका लागि लैजानु अघि प्याकेजिङ्ग जुन दिनमा गरिएको हो त्यही दिनको राख्नु पर्ने नियम छ । तर सहकारीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फितलो अनुगमनका कारण पाउरोटीमा लगाएको ट्यागमा बजारमा विक्रीका लागि राखिएको दिन भन्दा पछि पछिको अर्थात प्याकेजिङ्ग मिति श्रावण २० गते अर्थात अगष्ट ५ र म्याद गुज्रने मिति अगष्ट ११ उल्लेख गरेको छ ।
यसरी उत्पादन मिति र म्याद गुज्रने मिति छलेर आम उपभोक्ताको स्वास्थय माथि खेलबाड गरिरहेको शुभधारणा सहकारीलाई कार्वाही हुनुपर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उच्च कर्मचारीहरुको मिलेमतामो जोगाउने काम भईरहेको छ ।
‘स्पेशल ब्रेड’ नामक पाउरोटीको उत्पादन मिति अगाडि नै बजारमा उपलब्ध भएको छ । उत्पादन भन्दा अगाडि नै बजारमा फेला परेपछि सो विषयमा शुभधारणा ग्रुपका सञ्चालक राजेन्द्र ढकालले भने आफूहरुले त्यस्तो नगरेको बताउँछन् । तर उनको कम्पनीले उत्पादन गरेको पाउरोटीमा लगाएको लेवलले स्पष्ट पार्दछ ।
उत्पादकले सो विषयमा बोल्न नचाहेपनि हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशकलाई जानकारी गराउने प्रयास गर्दा पनि महानिर्देशक मतिना वैद्यले छानविन गरेर कार्वाहीको दायरामा ल्याउने बताएकी छिन् । ऐन नियमको बर्खिलाप गर्दै उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्ने यस्ता उत्पादकहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु आवश्यक छ । खाद्य पदार्थ जस्तो सम्वेदनशील चीजमा उत्पादन वा प्याकेजिङ्ग गरेकै दिनको मिति नराखी बजारमा पुगेको भोलीपल्टको मिति राख्नु लापरवाही मात्र हो या अरु पनि कारण छन् ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल सो सहकारीले उत्पादन गर्ने पाउरोटी बजारबाट नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाउने आँट गर्ला ?

प्रकाशित मिति: आइतवार, साउन १९, २०७६