बुधबार, बैशाख १२, २०८१

‘व्यावसायिक पशुपालनले जीवन उकास्यो

सुर्खेत, पौष ।  अति विपन्न परिवारमा हुर्केकी कुनाथरी ५ की चन्द्रा गौतमको जति संघर्ष सायद उनको गाउँमा कमैले गरे होलान् । अभावै–अभावबीच एसएलसीसम्मको पढाइ पूरा गरेकी चन्द्रालाई बाबु–आमाले खर्च बेहोर्न नसक्ने अवस्था निम्तिएपछि कलिलो उमेरमै फुपूले बिहे गराइदिइन् ।bakhra-palan

‘बुवा सधैं रक्सी पिएर आमाले कुट्ने, भएको पैसा रक्सीमा खर्चिने गरेपछि घरको अवस्था दयनीय थियो,’ कष्टका ती क्षण उनले सम्झिइन्, ‘आर्थिक अवस्था कमजोर हुँदा सोचेको जति पढ्न सकिएन । पढाइ बीचमै रोक्नुपर्‍यो ।’

पतिसहित ५ जनाको परिवारलाई पालनपोषण गर्ने मुख्य जिम्मेवारी अहिले उनकै काँधमा छ । उनी आमा र बाल्यकालमा आफूले भोगेका दु:ख भोग्नु नपरोस् भनेर आयआर्जनको बाटोमा लागिन् । सन् २०११ मा स्ट्रोमा फाउन्डेसनको सहयोगमा किर्डाक नेपालले बेलचौरलाई कार्यक्षेत्र विस्तार गरेपछि चन्द्राको भाग्य खुल्यो ।
गाउँमा सञ्चालित सबल कार्यक्रमअन्तर्गत धुलीचौर संवाद केन्द्रमा सहजकर्ताको भूमिका पाइन् । दैनिक दुई घण्टा १३ देखि १९ वर्षका २५ जना किशोरीलाई जीवन उपयोगी सीप, अधिकार र आयआर्जनका विभिन्न सवालबारे छलफल चलाउन थालिन् ।

‘सहजकर्तामा मात्रै सीमित भइनँ । आयआर्जनका क्रियाकलापमा समेत ध्यान दिएँ,’ उनले भनिन्, ‘समूहबाट ऋण लिँदै बाख्रा र कुखुरापालन थालेँ ।’ बर्सेनि बाँझो छाडिने उनको करेसाबारी संवाद केन्द्रकै छलफलका आधारमा हराभरा बन्न थाल्यो ।

आफूजस्तै गाउँका महिला दिदीबहिनीहरूलाई तरकारी खेतीलगायत आयआर्जनका क्रियाकलापमा व्यस्त गराउन थालिन् ।

उनी नेतृत्वको संवाद केन्द्रले काठमाडौंमा बालविवाहसम्बन्धी नाटक प्रदर्शनीमा ८ जिल्लालाई उछिन्यो । त्यसपछि झन् उनको हौसला बढ्यो । मासिक बैठक बस्ने, बचत गर्ने र जनचेतनामूलक क्रियाकलापमा सक्रिय सहभागी हुनलाई सबै महिलालाई उत्प्रेरित गर्छिन् । उनीजस्तै ६ जना किशोरी आयआर्जनका विभिन्न क्रियाकलापमा संलग्न छन् । यति मात्रै होइन, चन्द्रा बेलचौर स्वावलम्बन समूहको सदस्य, मसिना सामुदायिक वनको अध्यक्ष, सफलता सामाजिक उद्यमी महिला सहकारीको अध्यक्ष, सरस्वती निमाविको व्यवस्थापन समिति सदस्य र, बालविकास केन्द्रको सहजकर्ताको जिम्मेवारीमा छिन् ।

आमा समूहबाट ३ हजार रुपैयाँ ऋण लिएर १० वटा कुखुराबाट सुरु गरेकी उनीसँग अहिले ७० कुखुरा छन् । कुखुराको आम्दानीबाट ५ वटा बाख्रा किनिन् । व्यावसायिक योजना बनाएर बाख्रा र कुखुरापालन गरिरहेकी छन् । हाल उनको घरमा ६० वटा बाख्रा छन् । जिल्ला पशु सेवा कार्यालयमा फर्म पनि दर्ता गरेकी छन् । मासिक १५ हजार बढी आम्दानी व्यवसायबाटै हासिल गरेकी छन् । ‘घरखर्चदेखि अन्य भैपरी आउने सबै समस्याको समाधान गर्न पर्याप्त पैसा छ,’ उनले भनिन्, कुखुरा, बाख्रा, मौरीपालन र तरकारी खेतीले मेरो जीवनै बदल्यो । नसोचेको प्रगति गरेछु भन्ने लागेको छ ।’प्रकाश अधिकारी, कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: बिहिबार, पुस २१, २०७३