शनिबार, बैशाख ८, २०८१

विषादी परीक्षण पश्चात मात्र तरकारी आउँदै

भैरहवा, असार । निकै चर्चा र बहसका रुपमा आएको तरकारीमा विषादी जाँच प्रकरण सर्वोच्च अदालतसम्म पुगेको छ । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने विषयमा हतारमा निर्णय गरी पुर्न फिर्ता लिएपछि त्यस विषयमा सर्वत्र विरोध भएको थियो । सोही विषयलाइ लिएर सर्वोच्चमा रीट दायर भएपनि सर्वोच्च अदालतले सरकारले विषादी परीक्षण नगर्ने गरी गरेको निर्णय उल्टिएको छ । यदि सर्वोच्च अदालतको निर्णय मान्ने हो भने छिमेकी मुलुकबाट नेपाल भित्रने हरिया तरकारी तथा फलफूलहरु भन्सार विन्दुमा विषादी परीक्षण गर्नु पर्ने हुन्छ । हुन त सर्वोच्च अदालतलको अन्तरिम आदेश कै आधार भन्दै मौखिक निर्देशन भन्सार विन्दुमा दिएका भएपनि विषादी परीक्षण गर्नका लागि प्रयोगशालाहरु नगन्य मात्रामा नै छन् । जसले भारतबाट आयात गरिएका तरकारीको विषादी परीक्षण गर्नका लागि त्यत्ति सहज छैन ।
तर पनि सुनौली भैरहवा नाकाबाट आउने तरकारीको विषादी परीक्षण पश्चात मात्र भित्रन थालेका छन् । बुटवलमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाईमा परीक्षण पश्चात मात्र व्यवसायीहरुले पनि आयात गर्न थालेका छन ।
सर्वोच्चको आदेश पश्चात मौखिक निर्देशनकै आधारमा विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूलको भन्सार पास शुरु गरिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६