बिहिबार, चैत्र १५, २०८०

विभिन्न दुग्ध विकास संस्थानहरुमा मुद्धा दायर

काठमाडौँ,जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा विभिन्न दुग्ध विकास संस्थानहरुमा मुद्धा दायर गरेको छ ।
यी संस्थानहरुमा खाद्यान्नसरह दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरीहरूमा अत्यधिक समस्या देखिएकोले मुुद्धा दायर गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न डेरीहरूले उत्पादन गरेको दुग्ध पदार्थको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो ।विभागका अनुसार उजुरी र अनुगमनका क्रममा शंकाको आधारमा नमुना परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा बढी कैफियत भेटिएका डेरी, तेल, पानी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको हो । विभागको तथ्यांकअनुसार ९ महिनाको अवधिमा १ सय १३ विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये २० वटा दुग्ध तथा दुग्ध पदार्थ उत्पादन गर्ने डेरीविरुद्ध मुद्दा दायर भएको छ । ‘दूध, दही न्यून गुणस्तर र दूषित भेटिएपछि सम्बन्धित जिल्ला कार्यालयमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ । डेरी उद्योगले उत्पादन गर्ने प्रशोधित दूधमा कोलिफर्म भेटिएको छ । दूषित भेटिएपछि सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान, बालाजु र लैनचौरविरुद्ध पनि मुद्दा दायर भएको विभागको तथ्यांकमा छ । लैनचौरमा दही दूषित र बालाजुमा प्रशोधित दूध दूषित पाइएको थियो । प्रशोधित दुग्ध भनेपछि सीधै खान मिल्छ । तताउनु पर्दैन । तर, संस्थानको दूध परीक्षण गर्दा कोलिफर्म फेला परेको हो । सरकारी स्वामित्वबाहेक निजी डेरीमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । थानकोटमा रहेको चन्द्रागिरि डेरी प्रालिले पनि प्रशोधित दूध दूषित उत्पादन गरेको आरोपमा विभागले मुद्दा दायर गरेको छ ।

सञ्जीवनी डेरी उद्योग, सुजल डेरी प्रालि थानकोट, नारायणी मिल्क हेटौंडा, श्रीराम घिउ प्याकेजिङ उद्योग, ललितपुर, चन्द्रेश्वर किराना पसलविरुद्ध पनि मुद्दा दायर भएको छ । यस्तै दिव्य डेरी उद्योग हेटौंडा, चन्द्रेश्वर किराना पसल, सुजल डेरी प्रालि पोखरा, सिर्जना सहकारी संस्था, शक्ति फुड्स, मिल्कमान्डु डेरी प्रालि, ललितपुर, संयुक्त डेरी एन्ड बेभरेज इन्डस्ट्रिज, नेपाल डेरी प्रालि धापाखेल र संयुक्त डेरी एन्ड बेभरेज इन्डस्ट्रिजविरुद्ध पनि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । ती उद्योगलई खाद्य ऐन २०२३ अनुसार मुद्दा दायर गरिएको हो । मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ । विभागका अनुसार बजारमा करिब २० प्रतिशत खाद्य वस्तुहरू कम गुणस्तरका छन् । ती वस्तुहरूलाई नियन्त्रण गर्न विभाग प्रयासरत रहेको समेत विभागले जनाएको छ । साथै,अनुगमनका क्रमममा ‘सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान बालाजु र लैनचौरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५