मङ्लबार, बैशाख ११, २०८१

लमजुङमा वार्षिक ८० करोडको दूध उत्पादन

लमजुङ । पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएसँगै लमजुङ जिल्ला दूधमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका किसानले उन्नत जातका गाईभैंसी पाल्न थालेका कारण गुणात्मक रूपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले बताएको हो ।milk

कार्यालयका पशु विकास अधिकृत लक्षमण ढकाल भन्छन्, ‘जिल्लामा दूध उत्पादनका लागि व्यावसायिक पशुपालन गर्ने किसान राम्रै छन्, उनीहरूद्धारा उत्पादित दूधको खपत पनि राम्रो छ ।’ उनका अनुसार जिल्लाको  बेंसीशहर, बाँझाखेत, भलायखर्क, धमिलीकुवा, दुराडाँडा, परेवाडाँडा, सुन्दरबजार, भोटेओडार र रम्घा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्दै आएका छन् । उत्पादकत्व वृद्धि भएर दूध उत्पादन बढेपछि जिल्लामा दूध खपत राम्रै छ ।

पशु कार्यालयसँग भएको तथ्याङ्कमा आव ०७३/७४ मा १६ हजार मेट्रिकटन दूध उत्पादन भएको छ । जिल्लाको दूध उत्पादनको अवस्था हेर्दा प्रत्येक वर्ष दूध उत्पादन बढेको प्रमुख ढकाल बताउँछन् । ‘अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको थियो,’ उनले भने । लमजुङमा ३० हजार घरधुरीले दूध, घिउ बेच्दै आएका छन् ।

पशु विकास कार्यालयका अनुसार गत आवमा लमजुङमा डेढ अर्बभन्दा बढीको दूध उत्पादन भएको छ ।  लमजुङ बजारमा अहिले चलनचल्तीको दूधको मूल्य औसत ५० रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिलिटर छ ।

उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दूध दिने भएकाले यसतर्फ आकर्षित भएका हुन् । यहाँका किसानले जर्सी जातका गाई, होलीस्टिन, मुर्रा जातको भैंसी पाल्दै आएका छन् । पशु कार्यालयले व्यावसायिक रूपमा फार्म सञ्चालन गर्ने कृषकलाई गोठ सुधार, घाँसको बिरुवा, बेर्ना, मिल्क एनालाइजर, विद्युतीय मदानी, भ्याक्सिन तथा जुकाको औषधि, शिविर र तालीम अनुदानमा दिने गरेको छ ।

पशुपालनमा क्षति न्यूनीकरणका लागि यहाँका किसानले बीमा पनि गर्न थालेका छन् । विभिन्न रोगव्याधीबाट गाईभैंसी मर्ने हुनाले त्यस्तो क्षतिबाट जोगिन किसानले पशु बीमा गर्न थालेका हुन् । पशुबीमा कार्यक्रममा किसानलाई अनुदान दिने व्यवस्था छ ।

दुग्ध प्रशोधन केन्द्र स्थापना
सुन्दरबजार नगरपालिका– ८ भोटेओडारको धारापानीमा नेपाल मोडर्न एग्रिकल्चरले दूध प्रशोधन केन्द्र स्थापना गरेको छ । हाल प्रतिदिन २ हजार लिटर दूध उक्त केन्द्रमा प्रशोधन गरिन्छ । उक्त प्रशोधन केन्द्र १ करोडभन्दा बढीको लागतमा स्थापना गरिएको आराभा नेपालका अध्यक्ष बजगाईंले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४